हेटौंडा-काठमाडौं दुई सडकमार्फत् आवतजावत गर्न सकिने

308
Shares

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौंडा-काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौंडा-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड र हेटौंडा-पालुङ-नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा-काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी-सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी-कुलेखानी-सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।

यस्तै हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।