आन्तरिक उडानका वायुसेवामा बुध्द, यति र पछिल्लो समय उदाउदै गरेको श्री एयरलाइन्सबीच मात्रै यात्रु सेवामा प्रतिस्पर्धा चलिरहेको छ । बर्सेनी नयाँ नयाँ कम्पनी दर्ता हुने र दर्जन वायुसेवा कम्पनीले उडान अनुमति लिएका भए पनि प्रतिस्पर्धामा आउन नसकेका कारण छोटो समयमा नै अस्ताउने गरेका छन् ।

काठमाडौं । आन्तरिक उडानका वायुसेवामा साढे २ दशकदेखि सेवा दिइरहेका बुध्द, यति र पछिल्लो समय उदाउँदै गरेको श्री एयरलाइन्सबीच यात्रु सेवामा प्रतिस्पर्धा चलिरहेको छ । आन्तरिक उडानमा दर्जन वायुसेवाले उडान अनुमति लिएका भए पनि प्रतिस्पर्धामा आउन नसकेका कारण छोटो समयमा नै अस्ताउने गरेका छन् ।
बजारमा प्रतिस्पर्धा गर्न नसक्ने र समययानुकुल जहाज उडाएर यात्रु आकर्षित गर्न नसकेका कारण पछिल्लो २७ वर्षयता बुध्द र यतिसँग प्रतिस्पर्धा गर्न आएका वायुसेवाको बाटो बीचैमा टुंगिइरहेको छ ।
पछिल्लो दुई दशकमा संख्याका हिसाबले ५ दर्जनको हाराहारीमा वायुसेवा कम्पनी पुगेको भए पनि अस्थित्वमा भने नियमित उडानमा ९ वटा मात्रै देखिएका छन् । त्यसमा पछि सौर्य एयरलाइन्स र गुण एयरलाइन्सको सेवा बन्द छ भने नेपाल एयरलाइन्स आन्तरिक उडानमा २ वटा ट्वीनअटर लिएर बसिरहेको छ ।
निगमले पनि समयमा उडान गर्न नसक्ने भएकै जहाज प्राविधिक भइरहने कारण नियमति एउटाको उडान हुन पनि मुस्किल छ । निगम कमजोर हुनुको फाइदा निजी क्षेत्रले लिइरहेको देखिन्छ । त्यसो त सरकारले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउनै चाहेको छैन ।
सरकार नै कमिसनमा चल्ने, विचौलियाको भरमा उत्साहित हुने र व्यापार गर्न खोज्ने तर कमजोर रणनीति लिएर बजारमा जाने गरेका कारण निगम उड्नै नसक्ने गरी थला परेको छ । निगमलाई आन्तरिक वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्ने गरी जहाज थप गर्नुको साटो उडान गर्न नसक्ने ६ वटा चिनियाँ जहाज भिडाएर सरकारले नै गद्दारी गरेको घामजस्तै छर्लंगो इतिहास छ । ती जहाज अहिले पनि त्रिभुवन विमानस्थलमा घाम तापेर बसिरहेका छन् भने निगमले तिर्नुपर्ने ऋणको दायित्व भने वर्षेनी बढेको बढ्यै छ ।
आन्तरिक उडानका सीता, समिट र तारा एयरलाइन्सले दुर्गम क्षेत्रमा उडान दिने भएका कारण यी तीन वायुसेवा सहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट)को सेवामा प्रतिस्पर्धामा छैनन् । सेवा सुविधामा अब्बल भएको बुध्द एयरले सहरी क्षेत्रका विमानस्थलमा आधुनिक सेवा र सुविधाका जहाज उडाएरका कारण आफ्नो बलियो उपस्थिति देखाएको छ ।

यतिले एटीआर ७२ नामक अत्याधुनिक विमान प्रयोग गरेकै कारण बुध्दको विकल्प बनेको छ । पछिल्लो समय यी २ कम्पनीभन्दा फरक जहाज ल्याएर पनि श्री एयरलाइन्सले आफ्नै बजार बनाएर बुध्द र यतिलाई चुनौती दिन थालेको छ । जहाज संख्याका हिसाबले भने हेलिकप्टरसमेत गरेर श्रीसाग डेड दर्जन पुगिसकेको छ । तर बजार हिस्साका हिसाबले पनि बुध्द र यतिभन्दा पछाडि छ ।
नियमित उडानमा ९ वटा जहाज भएपनि अरु १२ वटाल भने हेलिकप्टर कम्पनीका रुपमा सेवा दिइरहेका छन् । हेलिकप्टर कम्पनीका रुपमा सेवा दिनेमा एयर डाइनेष्टि, अल्टिच्युड, अन्नपूर्ण, फिस्टेल, हेलि एयरेष्ट, कैलास, मनाङ, माउन्टेन, प्रभु, श्री, सिम्रिक र मुस्ताङ हेलिप्टर छन् ।
यीमध्ये हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको न्यूनतम सर्त पालना गर्न नसकेका कारण मुस्ताङले करिब ३ वर्षदेखि नै उडान गर्न सकेको छैन । अरु हेलिकप्टरले २ देखि ३ वटा हेलि राखेर सेवा दिइरहेको छन् । यी हेलिकप्टर कम्पनीहरु पनि कुन बेला बन्द हुने हुने भन्ने दोसाँधमा छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्ता गर्ने तर नेपाल नागरिक उड्डयन प्राधिकरण पुग्दा हराउने वायुसेवाको संख्या अहिले एक दर्जनको हाराहारीमा गन्न सकिन्छ । यसको अर्थ, पर्यटन मन्त्रालयबाट अनुमति लिन्छन तर आवश्यक प्रक्रिया पूरा गरेर उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) लिन भने सक्दैनन् । जसका कारण कुनै पनि आन्तरिक वायुसेवा दर्ता हुँदैमा सञ्चालन हुन सक्छन भन्ने हुँदैन् ।

नेपाल नागरिक उड्डयन प्राधिरकणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले पनि आधा दर्जनभन्दा बढी वायुसेवा उडान अनुमतिको प्रक्रिया पूरा गर्न भन्दै लागिपरेका छन् । यी मध्ये हेलिकप्टर र फिक्स विङ्स दुवै छ । आन्तरिक उडानमा मात्रै नभएर अन्तर्राष्ट्रिय उडान गर्छु भन्ने वायुसेवाले समेत तोकिएको उड्डयन प्राधिकरणको सर्त पूरा गर्न नसकेका कारण उडान अनुमति पाउन सकेको छैन ।
प्राधिकरणबाट अनुमति लिएका वायुसेवा पनि केही समय सञ्चालन हुन्छन, एक दुईवटा जहाज राखेर आक्रामक रणनीति बनाउँछन् तर बजारमा उपस्थिति भने न्यून हुन्छ । रणनीति अनुसारको प्रतिफल दिने गरी काम गर्न नसकेकै कारण आन्तरिक वायुसेवा उदाउनै नसकी अस्ताउने संख्या धेरै हुन पुगेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ लागेपछि मात्रै अनुमतिका लागि विभिन्न चरणमा रहेको वायुसेवामा हेली एयर नेपाल, सगरमाथा हेली, गगनचुम्बी हेली, डाँफे एयर, गुण एयर, सुमेधा एयरले प्रक्रिया अगाडि बढाएका छन् । यसअघि गत आर्गिक वर्ष २०८१/८२ सम्म अनुमतिका लागि विभिन्न चरणमा पुगेका आरएस हेलिकप्टर, शिवम् हेलिकप्टर, सगरमाथा हेलिकप्टर र धौलागिरि हेलिकप्टरले अझै उड्डयन कम्पनीको रुपमा स्थापित गर्न सकेका छैनन् ।

प्राधिकरणका अनुमित माग्दैमा तोकिएको मापदण्ड अनुसार प्रक्रिया पूरा नगरेको हुँदा उडान अनुमति भने पाउँदैनन् । यी वायुसेवा कम्पनी विभिन्न चरणमा एओसीको पर्खाइमा रहेको प्राधिकरणका सूचना अधिकारी भुलले बताए । उनका अनुसार मन्त्रालयबाट इजाजत ल्याएर मात्रै हुँदैन तोकिएको उड्डयन सर्त पनि पालन गरेर जहाज उडाने क्षमता पनि बनाउनुपर्छ ।
उड्डयन प्राधिकरणका अनुसार धेरैजसो वायुसेवा पूर्व तयारी नगर्ने, दीर्घकालीन लगानीको रणनीति नबनाइ लहडका भरमा आउने गरेको बताउँछन । उनका अनुसार धेरैजसो वायुसेवा आर्थिक अभावकै कारण सञ्चालन हुन नसक्ने र बन्द हुने गरेको छ।
विमान दुर्घटनासँगै जहाजको संख्या घट्नु र त्यसलाई सम्बन्धित वायुसेवालाई थप गर्न नसक्दा त्यसको स्तरपनि कमजोर हुँदै गएको छ । वायुसेवा आउन हतार गर्ने तर सञ्चालनको उपयुक्त मोडल बनाउन नसक्नु र त्यसका लागि पनि ब्याक अफ नै नहुनु नै सबैभन्दा ठूलो समस्या भएको देखिन्छ ।







प्रतिक्रिया