तीन अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिसँग अर्थमन्त्रीले गरे छलफल, कसले के भने?

343
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार तीनवटा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

उनले एसियाली विकास बैंकका देशीय निर्देशक आर्नो कोस्वा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिसन प्रमुख जहान सर्वत र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनसँग भेटेका थिए ।

बैठकमा नेपालको राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्ने प्रभाव, विकास तथा आर्थिक सुधारका कार्यक्रमको निरन्तरता र आगामी प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सरकारको जिम्मेवारीबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

एसियाली विकास बैंकसँगको बैठकमा मन्त्री खनालले बैंकले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी र अन्य विकास आयोजना क्षेत्रमा खेलेको भूमिकाको सराहना गर्दै चालु परियोजनाहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

IMF का जहान सर्वतसँगको भर्चुअल बैठकमा आर्थिक सुधार कार्यक्रमको निरन्तरता र तीव्र कार्यान्वयनबारे छलफल भएको थियो। त्यसैगरी, IMFको विस्तारित ऋण सुविधाको छैटौँ समीक्षा प्रतिवेदन छिट्टै बोर्डमा पेश गर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।

अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा नेपालको पछिल्ला घटनाक्रम, अमेरिकी सहयोग, एमसीसी परियोजनाहरूको समयमै कार्यान्वयन, र निजी क्षेत्रको मनोबल बढाउने योजनाबारे छलफल भयो । राजदूत थम्पसनले ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकी सरकार नेपालको साथमा रहेको बताए। मन्त्री खनालले परियोजनाहरू ढिलो नहुने गरी सफल कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिए।