जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए प्रचण्ड, के भने ?

336
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने घोषणा गरेको छ।

जेनजी आन्दोलनका क्रममा कोटेश्वर पेरिसडाँडास्थित कार्यालयमा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य भवन निर्माण गर्ने तयारी गरेको हो ।

जेनजी आन्दोलनपछि सुरक्षा घेरमा बसेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सार्वजनिक भएका हुन् । आज पार्टी कार्यालय अवलोकन गर्न पुगेका ‘प्रचण्ड’ले भने, ‘क्षति त भयो, तर अब सम्पूर्ण पार्टीपंक्ति, देशभित्र र विदेशमा रहेका सदस्यहरूको सहयोगमा नयाँ र भव्य कार्यालय भवन निर्माण गरिनेछ।’ तर, नयाँ कार्यालय कहाँ बनाइने भन्नेबारे उनले खुलाएका छैनन्।

प्रचण्डले अवलोकनका क्रममा बैठकका माइन्युट, पुस्तकालयका सामग्री र केही कम्प्युटर जोगिन सफल भएको बताए । ती सुरक्षित राख्न भूमिका खेलेका कर्मचारी र कार्यकर्ताप्रति उनले आभार व्यक्त गरे।

केही समय सेनाको सुरक्षा घेरामा रहेका उनी हाल आफन्तको घरमा बस्दै आएका छन् । आन्दोलनकै क्रममा उनको खुमलटारस्थित निवासमा समेत आगजनी भएको थियो । उनका छोरी गंगा र रेणुसहित पार्टीका अन्य नेताहरूको घरमा पनि तोडफोड र आगजनी भएको थियो ।