
विराटनगर । जेनजीको आन्दोलनका कारण चार दिनदेखि बन्द विराटनगर भन्सार कार्यालय शुक्रबार अपराह्नबाट सञ्चालनमा आएको छ । तर कोशीको अर्को काँकडभिट्टाको मेची भन्सार भने सञ्चालनमा आउन सकेको छैन । झापाको मेची र भद्रपुर भन्सार कार्यालय प्रदर्शनकारीको तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको छ ।
बन्दले भन्सार चेकजाँच नहुँदा भन्सार परिसरमा ३ सयभन्दा बढी मालवाहक ट्रक रोकिएका थिए । शुक्रबार अपराह्नदेखि विराटनगर भन्सार सञ्चालनमा आएको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।
शुक्रबार अत्यावश्यक सामान बोकेका ट्रक र कन्टेनरको भन्सार चेकजाँच गरेर छाडियो । श्रेष्ठले भने, “भोलिदेखि सबै मालसामानको चेकजाँच गरेर छाड्ने तयारी छ ।” उनका अनुसार शुक्रबार ९ बुलेट एलपी ग्यास चेकजाँचपछि भन्सार परिसरबाट बाहिरिएको छ ।
शुक्रबार भन्सार परिसरमा रोकिएका मालवाहक ट्रकमध्ये एलपी ग्यासका बुलेट चेकजाँच गरिएपछि बन्दका कारण भारतीय क्षेत्रमा रोकिएका मालवाहक ट्रक र कन्टेनर भने आएका छैनन् । श्रेष्ठले भने, “यताको भन्सार परिसर खाली हुँदै गएपछि पारी जोगबनी भन्सार क्षेत्रमा रोकिएका मालवाहक ट्रक भित्रिएलान ।”
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले विराटनगर भन्सारमा भौतिक क्षति नपुर्याए तापनि लिलामीको प्रक्रियामा भन्सार परिसरमा राखिएका तीन सय थान मोटरसाइकल, सिटी रिक्साका साथै टेम्पो उच्छृंखल समूहले लुटेका थिए ।
त्यसैगरी, केन्द्रीय सर्भरसँग विच्छेद भएका कारण विराटनगरको आन्तरिक राजस्व कार्यालय सञ्चालनमा आउन सकेको छैन । आन्दोलनकारीले आगजनी गरेर क्षतिग्रस्त बनाएको यो कार्यालय केन्द्रीय सर्भरसँग नजोडिएसम्म सञ्चालन हुने स्थिति छैन । त्यसैगरी दमक र इटहरीका आन्तरिक राजस्व कार्यालय पनि तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका छन् ।







प्रतिक्रिया