अटो शोको उत्साह नसकिँदै व्यवसायीमा छाएको निराशा, मुख्य सिजनमै धराशायी बन्यो व्यापार

546
Shares

काठमाडौं । एक साताको अन्तरालमा दुई अटो शो गरेर व्यवसाय फस्टाउने आशामा बसेका अटो व्यवसायी निराश बनेका छन् । दुई अटो शोमा भएका बुकिङलाई बिक्रीमा परिणत गर्नेगरी काम गरिरहेका व्यवसायी जेनजी प्रदर्शनका कारण एकाएक निराशामा धकेलिएका हुन् । खासगरी, भदौमा हुने अटो शो देखि दसैं तिहारसम्मको चाडपर्वसम्मको अवधिलाई सवारीसाधन खरिदबिक्रीको मुख्य समय मानिन्छ ।

तर, बजार चलयमान हुने यही समयमा नै दर्जनौ अटो ब्रान्डका भौतिक संरचना त ध्वस्त भएन नै, मानिसले गाडी खरिदबिक्री गर्ने वातावरणसमेत बिग्रिएको छ । अर्थात्, अब केही समय मानिसले गाडी खरिदमा त्यति धेरै ध्यान नलगाउने अवस्था बनेको छ । प्रदर्शनका क्रममा निजी तथा सरकारी गरी धेरै सवारीसाधनहरुमा तोडफोड र आगजनी भएकाले पनि गाडी खरिदकर्ता केही समयका लागि निरुत्साहित बनेका छन् ।

चाडपर्व बाहेक अन्य समयमा शोरुम भाडा र कर्मचारी धान्ने खर्च उठाउन धौधौ पर्ने अटो व्यवसायीले अधिकतम आम्दानी यहि मौसममा गर्दथे । तर, व्यापार बढी हुने मुख्य समयमा नै कठिन परिस्थिति सिर्जना भएपछि बजार थलिने अवस्थामा पुगेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष (एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक) मिलनबाबु मल्ल व्यापारको मुख्य समयमा नै प्रदर्शनले व्यवसायमा ठूलो असर गरेको बताउँछन् ।

‘अटो शोदेखि गाडी खरिदबिक्रीको माहोल बन्दै गएको थियो । व्यापारका हिसाबमा यो हाम्रो सबैभन्दा मुख्य समय पनि हो,’ मल्ल भन्छन्, ‘तर, जेनजी प्रदर्शनीले समग्र बजारमा असर पुराएको छ । अब, यस्तो अवस्थामा बजार खुलेपनि तत्कालै मानिस गाडी खरिद गर्ने अवस्थामा पुग्दैनन् र व्यापार पनि राम्रो ढंगमा नहुने स्थिति छ ।’

यस वर्ष करिब दुई साताको अन्तरालमा नाइमा नेपाल मोबिलिटी एक्स्पो (साउन २१ देखि २६ गतेसम्म) र नाडा अटो शो (भदौ ३ गतेदेखि ८सम्म) प्रदर्शनी भएका थिए । गत वर्षसम्म वर्षमा एक मात्रै अटो शो हुँदै आएकोमा यस वर्ष भनै एक साताकै अन्तरालमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स अफ नेपाल (नाडा)ले दुई अटो शो गरेर अटो बजारलाई रोमाञ्चक बनाएका थिए ।

चाडपर्व भन्दा केही समय अगाडि भएका दुई अटो प्रदर्शनीले व्यवसायीमा नयाँ उत्साह र आत्मविश्वास थप्ने काम गरेको थियो । प्रदर्शनीले मोटरसाइकल, स्कुटर र दुई पांग्रे बजारमा मानिसको राम्रो चासो रहेको पुष्टि गर्यो । दुबै प्रदर्शनीमा ब्रान्डहरूबीच नयाँ मोडेल सार्वजनिक गर्ने होड मात्र चलेनको थिएन, उपभोक्तालाई सहज कर्जादेखि अफर प्याकेजमार्फत तान्ने प्रयास पनि भरपुर गरेका थिए ।

छोटो अन्तरालमै भएका यी दुई शोले अटो क्षेत्रमा लगानीको वातावरण सकारात्मक बनाएको र बजार स्थिरतर्फ उन्मुख हुने संकेत गरेको प्रतिक्रिया व्यवसायीले दिएका थिए । तर, यो सम्पूर्ण सकारात्मक वातावरण जेनजी प्रदर्शनले बिथोलेको मल्लको तर्क छ । यसबाट सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्ने उनको आकलन छ ।

कति भयो क्षति?

भदौ २३ गतेबाट सुरु भएर भदौ २४ मा विध्वंसमा परिर्णत भएको जेनजी प्रदर्शनको निसानामा अटोमोबाइल क्षेत्र पर्दा सयौंको संख्यामा निजी तथा सरकारी सवारीसाधन जेनजी प्रदर्शनकारीको निसानामा परे । अटो शोरुमहरु पनि यसको सिकार बने भने अटो हबको रुपमा चिनिने थापाथलीमा मात्रै करिब आधा दर्जन बढी गाडीका शोरुम ध्वस्त बनाइए ।

प्रदर्शनकारीले थापाथलीमा रहेका टाटा मोटर्स, सीजी मोटर्स, महिन्द्रा, सुजुकी, हुन्डाई लगायतको शोरुममा आगलागी तथा तोडफोड गरे । आगजनीबाट अधिकांश शोरुममा पूर्ण क्षति भए भने त्यहाँ राखिएका गाडी पनि जलाएर नष्ट गरिए । चारपांग्रे सवारीसाधनका दुई दर्जन ब्रान्डको शोरुम थापाथलीमा उपलब्ध छन् ।

नयाँ ब्रान्डदेखि पुराना ब्रान्डसम्म अधिकांश शोरुम थापाथलीमा भएकाले यो क्षेत्रलाई अटो हबको रुपमा लिने गरिन्छ । थापाथलीमा आयोन, एक्सपेङ, स्मार्ट, नेटा, दायुन, रिडारा, फोर्ड, काई, निसान, हुन्डाई, टाटा, लिपमोटर, सिट्रोन, स्कोडा, एमजी, सुजुकी, महिन्द्रा, किया, जीकर, जीएमडब्लु, रेनल्टलगायत गाडीका शोरुम छन्।

थापाथलीमा सिजी मोटर्सले मात्रै बिक्री गर्ने पाँच वटा शोरुम छन्। आन्दोलनकारीको निशानामा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पर्दा धेरै अटो ब्रान्डमा क्षति पुग्यो । चौधरीको रवि भवनमा रहेको निजी निवासमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो भने घरमा रहेको निजी सवारी साधनमध्ये दुई वटा सवारी त्यहाँबाट निकालेर चोकमा लगेर जलाइएको थियो ।

उनको घरको पार्किङमा भएको करिब ८ वटा गाडीमध्ये ६ वटा गाडीमा आगजनीमा परे । जसमा दुई वटा गाडीलाई पूर्णरुपमा जले भने अन्य आंशिकरुपमा जलेका छन् । प्रदर्शनकारीले सिजी, एलजीलगायत ब्रान्डका सामानहरू उत्पादन हुँदै आएको उनको सतुंगलमा रहेको सिजी डिजिटल पार्कमा आगो लगाएर ध्वस्त बनाइदिए । उनीहरूले सिजीको थापाथली र रवि भवनमा रहेको गाडी शोरुममा समेत आगजनी गरे ।

पोखराको नयाँबजारमा आन्दोलनकारीले जलाएको अटो शोरूमको भवनभित्र त झन् जलेको अवस्थामा एक युवतीको शव नै भेटियो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सञ्चालन गरेको उक्त अटो शोरूममा आन्दोलनकारीले मंगलबार आगो लगाएका थिए । अझै, कहाँ कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी नै छ ।

‘अटो क्षेत्रमा कति क्षति पुग्यो भन्ने समग्र तथ्यांक संकलन भइसकेको छैन । यद्यपि, यसको तयारीमा हामी लागिसकेको छ,’ नाडाका आमन्त्रित सदस्य अनुपकुमार बरालले भने, ‘अबको केही समयमा यसको तथ्यांक अउनेछ ।’ उनले अध्ययन पश्चात् प्रदर्शनका क्रममा अटोमोबाइल क्षेत्रमा कति क्षति भयो भन्ने कुरा बाहिर ल्याउने जानकारी दिए ।

अटो व्यवसायीले पोखेको दुःखेसो

प्रदर्शनका क्रममा चौधरी समूहको थापाथलीस्थिति शोरुम ध्वस्त भएको छ । प्रदर्शनीका नाममा भएको तोडफोड, आगजनी र लुटपाटपछि सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्ना कर्मचारी तथा परिवारलाई दशकौं अवधिको मिहिनेतलाई एकैछिनमा खण्डहर बनाउने काम भएको प्रतिक्रिया दिएका छन् ।

‘आन्दोलन युवाहरूले देखाएको सकारात्मक उद्देश्यका साथ सुरु भए पनि असामाजिक तत्त्व र बाह्य शक्तिले यसलाई हिंसा, लुटपाट र विनासमा बदलिदिए,’ चौधरीले लेखेका छन्, ‘यसक्रममा अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरिनु, पारिवारिक घरमा आक्रमण र आगजनी, कारखाना तथा कार्यालयमा क्षति पुर्याइनु, शोरुम लुटिनुजस्ता घटनाले दशकौंको त्याग र मिहिनेतलाई केही घन्टामै खरानीमा परिणत गरिदियो ।’

भूकम्पदेखि महामारीसम्म हरेक संकटमा अग्रपंक्तिमा उभिएको उनले उल्लेख गरेका छन् । ‘दुष्कृत्यहरूले हाम्रो भवन जलाए पनि हाम्रो सपना जलाउन सक्दैनन्। उनीहरूले हाम्रो शोरुम लुटे पनि मूल्य लुट्न सक्दैनन्,’ चौधरीले लेखेका छन्, ‘उनीहरूले हामीलाई कमजोर बनाउन खोजे पनि हाम्रो परिवारको एकता भंग गर्न सक्दैनन् ।’

जेनजी प्रदर्शनको क्षतिपछि अटो व्यवसायी एवं नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का निवर्तमान अध्यक्ष ध्रुर्व थापाले प्रदर्शनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आफूले उद्यम गरेर गल्ती गरेको हो? भन्ने प्रदर्शनका नाममा आगजानी तथा तोडफोड गर्नेमाथि प्रश्न गरेका छन् ।

‘म कुनै राजनीतिक मान्छे थिइन । न कुनै भ्रष्ट वा तस्कर । १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ । कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो,’ थापाले भनेका छन्, ‘आफूले मात्रै उद्यम व्यवसाय गरिन् अरु धेरैलाई पनि सिकाए ।नेपालमै उद्यम गर्नुपर्छ । नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु ।’ उनले आफूले उद्धम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको बताएका छन् ।

उनले आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य नगरेको स्पष्ट पारेका छन् । ‘आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ । जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ,’ थापाले लेखेका छन्, ‘मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए ।’

नाडा अध्यक्ष करण चौधरीले पीडादायी क्षेणहरुलाई छोडेर अब अगाडि बढ्नुपर्ने बताएका छन् । ‘गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ । त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ,’ चौधरीले भनेका छन्, ‘हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ। तर विगतलाई हामी पछाडि छोडिसक्यौं ।’