जेनजी प्रदर्शन: १५ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते

84
Shares

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

सोमबार बिहान माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित संघीय संसद भवन नजिक पुगेपछि उग्र बनेको थियो । प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेका थिए । त्यसक्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई हटाउन खोजे पनि उनीहरु पछि नहटेपछि रवरको गोली चलाएको थियो ।

भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका प्रदर्शनकारी त्यसक्रममा घाइते भएपछि विभिन्न अस्पतालमा पुर्‍याइएको थियो । पछिल्लोपटक ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । योसँगै ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

सिभिल अस्पतालमा ३, एभरेस्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । काठमाडौंका विभिन्न अस्पताल घाइतेहरुले भरिभराउ रहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।