
काठमाडौं । जगत ब्रान्डको दाल बेच्दै आएको आशीर्वाद दाल मिलको व्यापार ६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ६ प्रतिशतले कम व्यापार भएको हो ।
कम्पनीले सन् २०२४ मा ९१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२५ मा बजारमा कम मात्रामा बिक्री हुँदा ८५ करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट दाल आयात गरी प्रशोधन गर्दै नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको दाल प्रशोधन गर्नका लागि दुई वटा युनिट छन् । कम्पनीले अष्ट्रेलिया, क्यानडा, तान्जानिया र म्यानमारबाट दाल आयात गरि प्रशोधन गर्ने गरेको छ ।
कम्पनीसँग दैनिक ३५ मेट्रिक टन मुङ र मास दाल प्रशोधन गर्न मास मिल र दैनिक ४० मेट्रिक टन चना, मसुर र रहर दाल प्रशोधन गर्न मसुर मिल रहेको छ ।
कम्पनी शिवम् अर्गनाइजेशन अन्तर्गत रहेको छ । कम्पनीमा शिवजीप्रसाद साह कलवार अध्यक्ष रहेका छन् ।
कम्पनीको व्यापारमा कमी आएसँगै खुद नाफामा पनि कमी आएको छ । कम्पनीले सन् २०२४ मा १.४५ प्रतिशत खुद नाफा कमाएको थियो ।
सन् २०२५ मा १.०४ प्रतिशत मात्रै नाफा कमाएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ४२ करोड ६५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३२ करोड ५ लाख रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया