
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै सम्पत्तिमा कर्पोरेट कार्यालय राख्न घरजग्गा खोजेको छ । काठमाडौंको रिङरोडभित्र विभिन्न १५ स्थानमा २ रोपनीदेखि ४ रोपनी जग्गा र घर भए कम्तिमा ३० हजार वर्गफिट क्षेत्रफलका साथैपर्याप्त पार्किङ भएको समपत्ति किन्न खोजेको हो ।
बैंकले मंगलबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै रिङरोडभित्र रहेका महाराजगञ्ज, बालुवाटार, नक्साल, लाजिम्पाट, कमलपोखरी, विशालनगर, अनामनगर, नयाँ बानेश्वर,दरबारमार्ग, पुतलीसडक, कमलादी, नागपोखरी, गैरिधारा र ज्ञानेश्वर क्षेत्रका सम्पत्तिलाई विशेष प्राथमिकता दिने जनाएको छ । उक्त क्षेत्रमा यस्तो समपत्ति पाए ३५ देखि ४० करोड रुपैयाँसम्म खर्च गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले क्लिकमान्डुलाई बताए ।
‘हामीले आफ्नै सम्पत्तिमा मुख्य कार्यालय राख्न खोजेका हौं,’ सीईओ लम्सालले भने । बैंकको मुख्य कार्यालय अहिले दरबारमार्गमा भाडाको घरबाट सञ्चालित छ ।
बैंकलाई सम्पत्ति बिक्री गर्न चाहनेले फिर्ता नहुनेगरी १००० रुपैयाँ डिपोजिट गरी त्यसको भौचरसहित यही भदौ २५ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।







प्रतिक्रिया