१४ बैंकको निष्क्रिय कर्जा बढ्दा यी ६ बैंकले घटाए

672
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा अधिकांश बैंकहरुको निष्क्रिय कर्जा (एनपीए) बढेको छ । २०८१ असार मसान्तमा ३.७४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औषत एनपीए २०८२ असार मसान्तसम्म आइपुग्दा बढेर ४.२२ प्रतिशत पुगेको छ ।

गत वर्ष सभैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको रहेको छ । एभरेष्टको एनपीए ०.३७ प्रतिशत छ, अघिल्लो वर्ष ०.७१ प्रतिशत थियो । यसको अर्थ के हो भने एभरेष्ट बैंकले दिएको कुल कर्जा ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँमध्ये ०.३७ प्रतिशत कर्जाको सावाँब्याज नियमित छैन । अधिकांश बैंकको एनपीए बढ्दा पनि एभरेष्टले भने घटाउन सफल भएको छ ।

त्यस्तै, अघिल्लो वर्ष २.१४ प्रतिशत रहेको निष्क्रिय कर्जालाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि घटाएर गत वर्ष १.४७ प्रतिशतमा झार्न सफल भएको छ । एक वर्षको अवधिमा बैंकले ८ अर्ब ४ करोड रुपैयाँले घटाएर कर्जा ७१ अर्ब ७१ करोड रुपैयाँमा झारेको छ । यो बैंकले पूर्णरुपमा कर्जा असूलीमा केन्द्रित भएको देखिन्छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि निष्क्रिय कर्जा घटाएको छ । अघिल्लो वर्ष ४.२८ प्रतिशत रहेको एनपीए गत वर्ष घटाएर ३.५९ प्रतिशतमा झारेको छ ।

यसैगरी, नविल बैंकले पनि निष्क्रिय कर्जा घटाएको छ । अघिल्लो वर्ष ४.४५ प्रतिशत रहेको एनपीएल घटाएर नविलले गत वर्ष ४.२७ प्रतिशतमा झारेको छ ।

त्यस्तै, कृषि विकास बैंकले पनि एनपीए घटाएको छ । अघिल्लो वर्ष ३.९१ प्रतिशत रहेको एनपीए घटाएर गत वर्ष ३.२६ प्रतिशतमा झारेको छ ।

त्यसैगरी, माछापुच्छ्रे बैंकले पनि एनपीएमा झिनो सुधार गरेको छ । अल्लिो वर्ष ३.८६ प्रतिशत रहेको एनपीए गत वर्ष ३.८३ प्रतिशतमा झरेको छ ।

गत वर्ष सबैभन्दा बढी एनपीए हुने पहिलो नम्बरमा छ हिमालयन बैंक । बैंकले प्रवाह गरेको कुल २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जामध्ये ७.२८ प्रतिशत कर्जाको नियमित सावाँब्याज उठेन । अल्लिो वर्ष बैंकको एनपीए ४.९८ प्रतिशत थियो ।

दोस्रो धेरै एनपीए हुनेमा कुमारी र तेस्रोमा एनआइसी एशिया बैंकको रहेको छ । अघिल्लो वर्ष ५.९६ प्रतिशत रहेको कुमारीको एनपीए बढेर गत वर्ष ६.४२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ३.४५ प्रतिशत रहेको एनआइसी एशियाको एनपीए बढेर गत वर्ष ६.२८ प्रतिशत पुगेको छ । यो बैंकले एक वर्षको अवधिमा १७ प्रतिशतले कर्जा घटाएको छ ।

त्यस्तै प्राइम र एनआइएमबी बैंकको एनपीए पनि बढेर ५ प्रतिशतमाथि पुगेको छ । अल्लिो वर्ष ४.९१ प्रतिशत रहेको एनआइएमबीको एनपीए बढेर गत वर्ष ५.८५ प्रतिशत पुगेको छ भने ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको छ ।

प्रभु, सिटिजन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, नेपाल र नविल गरी ६ बैंकको एनपीएल ४ प्रतिशतभन्दा बढी र ५ प्रतिशतभन्दा कम छ ।

बढ्दो एनपीएलले बैंकहरुको सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याउने रकम अर्थात् प्रोभिजनिङ बढेको छ, जसले सञ्चालन नाफा भए पनि सञ्चित नोक्सानीबाट बाहिरिन दिएको छैन । गत आर्थिक वर्षमा पनि ४ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । अघिल्लो वर्ष ९ बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । वितरणयोग्य नाफा ऋणात्मक हुनु भनेको ती बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न सक्दैनन् ।

कुन बैंकको एनपीए कति ?