
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागका निर्देशक (सिडिई) सचिन्द्र कुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा यादवले वैधानिक स्रोत पुष्टि गर्न नसक्ने गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणित भएको हो । सो अवधिमा यादव र उनका परिवारले विभिन्न स्रोतबाट २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा आम्दानी गरे पनि खर्च र लगानी ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा पुगेको देखिएको आयोगले जनाएको छ।
यसअनुसार यादवको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको सम्पत्ति स्रोत पुष्टि नभएको पाइएको छ । आयोगले यादवले पदको दुरुपयोग गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल गर्न मागदाबी गरेको हो ।
यस्तै, सार्वजनिक पदमा रहँदा यादवले आर्जन गरेको गैरकानूनी सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको पाइएको भन्दै उक्त सम्पत्ति जफतका लागि आशा कुमारी यादवलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
आयोगले आज विशेष अदालतमा यादव दम्पतीविरुद्ध आरोपपत्र दायर गरेको हो ।








प्रतिक्रिया