
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मुलुकमा लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला आधारहीन र निरर्थक भएको बताएका छन् । उनका अनुसार मुलुकका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सहज छ भने केही बाँकी क्षेत्रमा पनि विस्तारका काम तीव्र गतिमा भइरहेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले हाल विद्युत् उत्पादन, वितरण र आपूर्तिमा सरकारको प्राथमिकता रहेको बताए । उनले भने, ‘हामीले सुधारलाई तीव्रताका साथ अगाडि बढाएका छौं, उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु।’
उनका अनुसार हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ । यसरी आय–व्ययको तुलनामा झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा भएको उनले जानकारी दिए ।
‘देशभरको कुरा गर्दा केही क्षेत्रमा मात्रै विद्युत् पुर्याउन बाँकी छ। ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिरहेको अवस्था छ,’ मन्त्री खड्काले थपे ।
विद्युत् आपूर्तिमा सुधारका साथै सरकारले वैकल्पिक ऊर्जा विकासका लागि पनि सक्रियतापूर्वक काम गरिरहेको उनको भनाइ छ । सौर्य ऊर्जा, जलविद्युत् विस्तार तथा वितरण प्रणाली सुदृढीकरणका कार्यक्रमहरूलाई सरकार प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए ।
मुलुकको ऊर्जा सुरक्षालाई दीर्घकालीन रूपमा सुनिश्चित गर्न उत्पादन क्षमता विस्तार, आन्तरिक वितरण सञ्जालको सुधार र निर्यात क्षमता वृद्धिका लागि समेत रणनीतिक योजना कार्यान्वयनमा रहेको मन्त्री खड्काले स्पष्ट पारे ।
भारतलगायतका मुलुकहरूसँग ऊर्जा व्यापारलाई सन्तुलित र लाभदायक बनाउन सरकारले द्विपक्षीय समझदारीका आधारमा काम गरिरहेको उनको भनाइ छ । ‘विद्युत् निर्यातबाट मुनाफा लिनु मात्र होइन, आपूर्ति सञ्जाललाई पनि दिगो बनाउन हाम्रो लक्ष्य छ,’ उनले भने ।







प्रतिक्रिया