
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तावित भूमि विधेयक गिरिबन्धु जग्गा प्रकरणसँग नजोडिएको प्रष्ट पारेका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आइतवार भएको भूमिसम्बन्धी विधेयकको छलफलमा उनले अनावश्यक रूपमा गिरिबन्धुलाई भूमि विधेयकसँग जोड्न जरुरी नरहेको बताए ।
‘विधेयकमा कहाँ गिरिबन्धु जोडिएको छ ? देखाइदिनुस्,’ भन्दै सांसदहरूलाई आग्रह गर्दै मन्त्री अधिकारीले कृषि, उद्योगधन्दाका कुराहरू पनि विधेयकमा नजोडिएको स्पष्ट पारे।
उनले भने, ‘भूमि विधेयकमा प्रस्तावित संशोधित विषयहरूमा छलफल गरौँ। सरोकारवालाहरूले आफ्ना विषयहरू राखिरहनुभएको छ। मैले पटक–पटक भनेको छु, हामीले दफाबारलाई जसरी अघि बढायौं। हाउजिङका कुराहरू विधेयकमा ल्याएका छौं। त्यसमा गिरिबन्धुसहित अरू कुनै विषय नै जोडिएको छैन। सांसदहरूलाई गिरिबन्धु कहाँनेर विधेयकमा जोडिएको छ ? मलाई देखाउनु भनेर पटक–पटक भनिरहेको छु। यहाँ कुनै कृषिका कुरा जोडिएको छैन, गिरिबन्धु जोडिएको छैन। यहाँ उद्योगधन्दाको कुरा जोडिएको छैन।’
गिरिबन्धुलाई जोडेर भूमि विधेयकलाई प्रचार गर्नु आवश्यक नरहेको स्पष्ट पार्दै मन्त्री अधिकारीले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित नागरिकलाई जग्गा उपलब्ध गराउँदा सरकारले आवश्यक ध्यान दिने धारणा राखे।








प्रतिक्रिया