
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच छलफल सम्पन्न भएको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टीकृत सेवा तथा सेवा विस्तारका लागि २ हजार १०० जना डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी थप गर्न प्रस्ताव गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनशक्ति अपरिहार्य रहेको बताउँदै भने, ‘गुणस्तरीय र पहुँचयोग्य सेवा सुनिश्चित गर्नका लागि दक्ष जनशक्ति अभावको अन्त्य आवश्यक छ ।’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै भने, ‘जनतालाई छिटो, प्रभावकारी र गुणस्तरीय सेवा दिन दक्ष डाक्टर र नर्स अनिवार्य छन्। जनशक्ति व्यवस्थापनबारे थप परामर्श गरी अघि बढ्नेछौं।’
छलफलमा स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा योजना, बालबालिकाका लागि उपलब्ध नि:शुल्क औषधि, भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), जलन उपचार सेवाजस्ता विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ ।
सरकारले आगामी वर्षको बजेटमार्फत स्वास्थ्य क्षेत्रमा गुणस्तर वृद्धिका लागि पूर्वाधार, जनशक्ति र औषधि पहुँच विस्तारलाई प्राथमिकता दिएको छ।







प्रतिक्रिया