
काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा ११०.२ मेगावाट क्षमताको माथिल्लो चुवालुरुप्या जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
माथिल्लो चुवालुरुप्या पिकिङ रन अफ रिभर जलविद्युत् आयोजना नेपाल पोर्टफोलियो एनर्जी प्रालि र मलेसियन कम्पनी ओएचपी नेपाल इनकर्पोरेटेडको संयुक्त लगानीमा अघि बढाइएको हो ।
२०७६ मंसिर २९ गते १०३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिसहित सुरु गरिएको आयोजनाको विस्तृत अध्ययनपछि उत्पादन क्षमता ११०.२ मेगावाटमा पुर्याइएको हो । सन् २०२५ मार्चमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मन्त्रालयमा बुझाइएको हो।
२२ अर्ब ८५ करोड रुपैयाँ निर्माण लागत रहने आयोजनामा दुईवटा खोलाको पानी प्रयोग गरिनेछ । चुवा खोला र लुरुप्या खोलाखोलाको पानी जम्मा गरी विद्युत उत्पादन गरिनेछ ।
चुवा खोलामा ३४.६ मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण गरी ७ लाख ३८ हजार घनमिटर पानी संचित गरिनेछ । हेडरेस सुरुङको लम्बार २ हजार ८३१ मिटर रहेने छ।
लुरुप्या खोलामा २० मिटर लामो र ७ मिटर अग्लो बाँध बनाइनेछ । जलाशयबाट पाइपमार्फत पानी सुरुङ हुँदै विद्युतगृहमा पुर्याइनेछ ।
चुवा खोलाको पानी ल्याउने सुरुङ र लुरुप्या खोलाको पानी ल्याउने सुरुङ एउटा स्थानमा जोडिनेछ । त्यहाँबाट १०२ मिटरको सुरुङ हुनेछ । विद्युतगृहभित्र ३ वटा टर्बाइन हुने छ ।
आयोजनाको विद्युतगृह सिमकोट गापा १ मुग्रिकमा हुने छ । विद्युतगृहदेखि चुवा र लुरुप्याको बाँध र अन्य संरचनासम्म पुग्न ९.६ किमी सडक निर्माण गर्नु पर्नेछ ।
उत्पादन हुने विद्युत् सिधा मुगु हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । निर्माण कार्यको अवधि ४ वर्ष तोकिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ६१७.२८ गिगावाटघण्टा विद्युत् उत्पादन हुने लक्ष्य रहेको प्रतिवेदनमा उलेलेख गरिएको छ ।
निर्माणको क्रममा ७५७ रुख कटानी गर्नु पर्नेछ भने करिब १८.१३ हेक्टर वनजंगल प्रयोग गरिनेछ । आयोजना सञ्चालनपछि हुम्ला क्षेत्रको विद्युत आपूर्ति मात्र नभई स्थानीय अर्थतन्त्रमा पनि सुधार आउने अपेक्षा गरिएको छ । निर्माण अवधिमा करिब ६१० जनाले रोजगारी पाउनेछन् ।
११ करोड ४३ लाख रुपैयाँको सामुदायिक सहयोग कार्यक्रम मार्फत स्थानीय विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, सुरुङखेती जस्ता पूर्वाधार निर्माण गरिने जनाइएको छ ।








प्रतिक्रिया