
काठमाडौं । गत साता मंगलबार (साउन १३ गते) करिब चार वर्षपछि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३००२ बिन्दुमा उक्लिएर रोकियो । यसअघि, २०७८ भदौ २ गते ३१९९.०३ (त्यसदिन ३२२६) बिन्दुसम्म पुगेको नेप्से त्यसपछि घटेर माथि चढ्न सकेको थिएन । तर, गत साता मंगलबार भने नेप्से एकै दिन ३०.७६ अंकले बढेर चार वर्षपछि ३००२.०७ बिन्दुमा पुगेर बन्द भयो ।
२०७८ पछि गत वर्ष साउन ३१ गते नेप्से ३०००.८१ बिन्दुसम्म चढेको थियो । तर, मंगलबार नेप्सेले उक्त बिन्दुलाई नै उछिन्न सफल भयो । यद्यपि, चार वर्षपछि २०७८ यताकै सर्वाधिक उचाई समाएको नेप्से सम्हालिन भने सकेन । त्यसकै भोलीपल्ट अर्थात् बुधबार नेप्से ४७.९३ अंकले र बिहीबार ३१.५० अंकले घट्दै २९२२ बिन्दुमा सीमित भएको छ ।
गत साताको बुधबार र बिहीबार आएको उच्च अंकको गिरावटलाई कतिपयले करेक्सनको रुपमा व्याख्या गर्दै बजार अब उकालो चढ्ने चर्चा गरिरहेका छन् । कतिपयले भने यो पटक पनि बजार अब माथि उक्लिन नसक्ने भन्ने किसिमको टिप्पणी गरिरहेका छन् । हुन, त गत वर्षपनि २०८१ असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो ।
बजार हौसिएर उकालो लागेको बेला धेरैले चार वर्ष अगाडिको रेकर्ड ब्रेक भएर नयाँ रेकर्ड बनाउने तर्क गरेका थिए । यद्यपि, बजार त्यसबाट घट्दै असोज १३ गतेसम्म पुग्दा नेप्से २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु)सम्म खुम्चिसकेको थियो । त्यसबाट भने बजार बढेर फेरि २६०० र २७०० वरीपरी लामो समय घुमेको थियो ।
त्यसैले, यस वर्ष पनि बजारले गत वर्षकै लय समाउँछ वा नयाँ उचाई लिन्छ भन्नेमा धेरैको चासो देखिन्छ । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बुधबार र बिहीबारको घटाई करेक्सन मात्रै भएको बताउँछन् । उक्त दुई दिनको गिरावटले बजार थप मजबुद बनेको र फेरि उकालो लाग्ने सम्भावना उच्च भएको उनको तर्क छ ।
‘दुई दिनको गिरावटले बजारको बढ्दो यात्रा थप बलियो र मजबुद बनेको छ । अब करेक्सन आउने सम्भावना न्यून छ र आएपनि धेरै अंकको आउँदैन,’ अध्यक्ष ढकाल भन्छन्, ‘यो करेक्सनले अब बजार उकालो लाग्ने नै सम्भावना नै बढी छ ।’ उनले बजार निरन्तर बढ्नु भन्दा करेक्सन आउँदै बढ्दा दिगो र परिपक्व हुने बताए ।
पछिल्लो पटक असार १२ गते २५९५ बिन्दुमा रहेको नेप्से २० कारोबार दिनमा १७ दिन बढ्दा ३८७ अंकको वृद्धिका साथ साउन ८ गते २९८२ बिन्दुमा थियो । यसपछि, साउन ११ गते आइबार नेप्से १८.४४ अंकले घटेपनि त्यसपछि दुई कारोबार दिन फेरि बढ्यो । तथापि, साउन १४ र १५ गतेको दुई कारोबार दिनमै नेप्से ७९ अंकले घटेसँगै लगानीकर्तामा दोधारको स्थिति सिर्जना भएको छ ।
खासगरी, ३००० बिन्दुलाई बजारको मनौवैज्ञानिक प्रतिरोधको रुपमा लिइन्छ । यसकारण पनि नेप्से निकै कठिन मानेर ३००० बिन्दु माथि अडिएको थियो । गत साताको मंगलबार नेप्से ३००० बिन्दुमा अडिनु अगाडि आइतबार इन्ट्राडेमा ३०१३.१७ बिन्दु र मंगलबार ३०२८.७९ बिन्दुसम्म पुगेपनि बन्द हुँदा भने घटेर २९०० बिन्दुमै सीमित भएको थियो ।
पटक–पटकको परीक्षणपछि ३००० बिन्दु माथि रोकिएको नेप्से पनि एक दिन भन्दा टिक्न सकेन । बजार लगातार बढेकाले केही मात्रामा करेक्सन आउने समय पनि भएको थियो । यहि बीचमा नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाएको सीमा (क्याप) तत्कालै नहटाउने विषयले चर्चा पायो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने घोषणा गरेको थियो । यो घोषणा लागू गर्न पुसभन्दा अघि निर्देशिका संशोधन नहुने विषय बाहिर आयो र लगानीकर्तामा एक किसिमको असर पुरायो ।
यो विषय बाहिरिएपछि गत साताको बिहीबार मात्रै लघुवित्त इन्डेक्समा ३.६४ प्रतिशतको गिरावट आयो । यसका अलावा बजार एक हिसाबमा माथिल्लो बिन्दुमा उक्लिएकाले लगानीकर्ताहरु नाफा बुकमा पनि झुम्मिए । चार वर्ष अगाडि २४०० बिन्दुदेखि ३२०० बिन्दुसम्म सेयर खरिद गरेर बिक्री नगरी बसेका लगानीकर्ता पनि धेरथोर नाफा बुकमा लाग्दा त्यसको असर इन्डेक्समा देखिएको देखिन्छ ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे यो गिरावटलाई करेक्सन मात्रै मान्नुपर्ने र बजार अझै माथि जाने बताउँछन् । ‘बजार लगातार जसो बढेर तीन हजार बिन्दुमा पुगेकाले करेक्सनको समय पनि थियो । तर, त्यहि समयमा लघुवित्त लगायतका अन्य विषय चर्चामा आउँदा बजार बढी अंकले घट्न पुग्यो,’ पाण्डे भन्छन्, ‘तर, यो घटाई करेक्सन मात्रै हो । अब एक दुई दिनमै बजार माथि पुग्छ ।’
उनले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सकारात्मक आउने, नीतिगत तथा अन्य सूचक सहज अवस्थामा रहेकाले पनि बजार माथि जान उपयुक्त समय भएको बताए । समग्र अवस्था हेर्दा बजार संकुचन हुने ठाउँ नभएकाले अब यहि स्थितिमा थप करेक्सन आउने सम्भावना पनि कम भएको पाण्डेको भनाइ छ ।
गत साताको अन्तिम दुई कारोबार दिन सूचक मात्रै घटेन, कारोबार रकम पनि संकुचित बनेको छ । समग्रमा गत साताको पाँच कारोबार दिनमा नेप्से ६० अंकले घटेको छ । २९८२ बिन्दुमा रहेको बजार पाँच कारोबार दिनमा ६० अंकले घटेर बिहीबार २९२२.६३ बिन्दुमा रोकिएको छ । यस्तै, गत साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल ७८ अर्बको कारोबार भएको छ ।
गत साताको पाँच कारोबार दिनमा नेप्से तीन दिन घट्दा दुई दिन बढ्यो । नेप्से आइतबार १८.४४ अंक घटेको थियो । तर, सोमबार भने ७.१० अंक र मंगलबार ३०.७६ अंकले बढेर ३००२ बिन्दुमा पुग्यो । यो सँगै वर्षको उचाई भन्दा माथिा पुग्यो । यद्यपि, यसपछि बुधबार नेप्से ४७.९३ र बिहीबार ३१.५० अंकले घटेर २९२२ बिन्दुमा सीमित यो ।
गत साताको आइतबार नेप्सेमा २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो जुन, गत वर्षको भदौ दुई गते यताकै उच्च थियो । त्यसैगरी, सोमबार नेप्सेमा १९ अर्ब ३६ करोड, मंगलबार १८ अर्ब ५२ करोड, बुधबार १६ अर्ब ४४ करोड र बिहीबार १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
कारोबार रकमले साथ दिएकाले बजार तत्कालै बढी संकुचनमा नजाने तर्क पनि लगानीकर्ताहरुले गरिरहेका छन् । बजार साइकलअनुसार पनि यो पटक बजार माथि सम्भावना उच्च भएकाले पछिल्लो गिरावटलाई करेक्सनको रुपमा लिनुपर्ने लगानीकर्ताको भनाइ छ ।







प्रतिक्रिया