एनपीएलको आम्दानी २७ करोड ६९ लाख, क्यानको भागमा साढे २ करोड नाफा

280
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको आय-व्यय विवरण सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकमा गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई छलफलपछि अनुमोदन गर्ने निर्णय गरिएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार पहिलो संस्करणबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ भएको उल्लेख छ।

आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा भएको क्यानले जनाएको छ। यस नाफामध्ये ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ फ्रेन्चाइज टोलीलाई बाँडिएको छ । बाँकी ३ करोड १६ लाख ५० हजार ७८९ रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई र २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको भागमा परेको छ ।

क्यानले यस प्रतिवेदनलाई आगामी संस्करणहरूलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन उपयोगी आधारका रूपमा प्रयोग गरिने जनाएको छ ।

बिहीबारको बैठकमा अन्य एजेन्डा पनि रहेपनि मुख्यतया एनपीएलको आर्थिक विवरणबारे नै छलफल गरिएको क्यानले जनाएको छ ।

Skip This