तपाईं साइबर ठगीमा परिरहनु भएको त छैन ? (भिडियो)

189
Shares

काठमाडौं । बैंक खातामा भएको पैसा एकैचोटि रित्तिन्छ, खातावालाले थाहै पाउँदैनन् । जागिर खाँदै गरेका कर्मचारी लाखौं रुपैयाँको ऋणमा पर्छन्, तर आफू ऋणमा परेको थाहै पाउँदैनन् । साथीभाइ वा आफन्त अफ्ट्यारोमा परे भनी पैसा माग्छन्, दिँदा मात्रै थाहा हुन्छ ठगीमा परेको रहेछ भन्नेबारे ।

प्रविधिको विस्तारसँगै बैंकिङ सेवा सहज भएको छ । तर, त्यससँगै जोखिम पनि बढेको छ । बैंकिङ सेवा सजिलो भए पनि प्रविधिको प्रयोगसँगै अनलाइन ठगी विभिन्न रूप र तरिकामा देखिन थालेका छन् । जो कोही पनि यसको सिकार बन्न सक्छ ।

कतिपय व्यक्ति चिठ्ठा वा उपहारको लोभमा परेर ठगीमा पर्ने गरेका छन् ।

साइबर ठगीको प्रमुख माध्यम हाल फेसबुक, ह्वाट्सएप, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल बनेका छन् । इसेवा, खल्तीलगायतका मोबाइल वालेटहरू पनि ठगहरूको निशानामा परिरहेका छन् । यिनै प्लेटफर्महरूबाट चिठ्ठा परेको, गिफ्ट आएको, अवसर प्राप्त भएकोजस्ता बहानामा ठगी हुने गरेको प्रहरीको भनाइ छ ।

कतिपयलाई अनलाइनमै चिनजान भएको साथीले गिफ्ट पठाइदिने भन्दै प्रलोभनमा पारिन्छ र सो गिफ्ट प्राप्त गर्न ट्याक्स क्लियरेन्सका नाममा रकम माग गरिन् छ। कतिपयलाई भने बैंकको कर्मचारी बनेर मोबाइलमा आएको ओटीपी कोड मागिन्छ र त्यो बताएपछि उनीहरू ठगीमा पर्छन् ।

नेपाल राष्ट्र बैंकले केही दिनअघि अनलाइन ठगीमा परेकाहरूको बारेमा एक भिडियो तयार पारेको थियो । उक्त भिडियोमा उपहार वा जागिरका नाममा नागरिक कसरी ठगीमा पर्छन् भन्ने विषयमा सत्य घटनामाथि आधारित दृश्यहरू प्रस्तुत गरिएको छ।

एक महिलाका अनुसार सुरुमा उनलाई एक अनजान नम्बरबाट फोन आयो, ‘तपाईंले उपहार जित्नुभएको छ, कृपया आफ्नो खाता नम्बर पठाउनुहोस् ।’ उनले खाता नम्बर पठाइन् । त्यसपछि, विभिन्न बहाना बनाएर पिनकोड मागियो । उनलाई शंका लाग्यो र उनले पिनकोड दिइनन् । यदि उनले पठाएको भए, खाताको सबै पैसा ठगहरूको हातमा पर्ने थियो ।

अर्का एक पीडितले भने आफ्नो बैंक खातामा भएको पैसा गुमाए । उनलाई बैंकका कर्मचारी भन्दै फोन आयो र भनियो, ‘तपाईंको खातामा समस्या आएको छ, तपाईँको नम्बरमा ओटीपी पठाउँछु, कृपया बताइदिनुहोस् ।’ उनले विश्वास गरी ओटीपी कोड बताए । केही समयमै उनको खाताबाट २१ हजार २०० रुपैयाँ काटियो । बैंकमा फोन गरेपछि मात्रै थाहा भयो, ठगी भइसकेको रहेछ । उनले ‘बैंक कर्मचारीले फोनमा कहिल्यै व्यक्तिगत विवरण माग्दैन’ भन्ने जानकारी नपाएका कारण ठगीमा परे ।

घरमै बसिबसी पैसा कमाउन सकिने भन्दै अनलाइन जागिरको प्रलोभन देखाएर पनि मानिसहरू ठगिँदै आएका छन् । एक पीडितलाई ‘दिनको २/३ हजार कमाइ हुन्छ’ भनियो । उनले लिंक खोलेर हेर्दा अरूले पनि कमाइ गरिरहेको देखे । उनले काम गर्न थाले—आफ्नो खातामा आएको पैसा अरूको खातामा ट्रान्सफर गर्ने काम थियो । १५ दिन काम गरेबापत उनलाई २५ हजार पारिश्रमिक पनि दिइयो । त्यसपछि उनलाई प्रहरीले अनुसन्धानका लागि बोलायो । प्रहरी कार्यालयमा पुगेर थाहा भयो-उनको खातामा साइबर ठगहरूले ठगी गरेको रकम पठाउँथे र उनले त्यही रकम अरूको खातामा ट्रान्सफर गर्दिन्थे । यसरी उनले अनजानेमै ६ लाख रुपैयाँको ठगीमा संलग्न भएको देखियो र कारबाहीको अवस्थामा पुगिन् ।

यस्ता ठगीमा सामान्यतः छिटो र सजिलै धेरै पैसा कमाउने लोभले मानिसहरू पर्ने गरेका छन् ।

त्यस्ता ठगीबाट बच्न, सामाजिक सञ्जाल वा डिजिटल बैंकिङ प्रयोग गर्दा विशेष सतर्कता आवश्यक हुन्छ । अनलाइन ठगीबाट जोगिनका लागि व्यक्तिगत जानकारी गोप्य राख्नुपर्छ, अपरिचितसँग आर्थिक कारोबार नगर्नुपर्छ र सत्यतथ्य बुझेर मात्रै कुनै आर्थिक लेनदेन गर्नुपर्छ भन्ने विज्ञहरूको सुझाव छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र प्रहरीको साइबर ब्युरोले पनि यस्ता ठगीप्रति सचेत रहन आग्रह गर्दै आएका छन् । केही समयअघि साइबर ब्युरोले प्रविधिको दुरुपयोग गरेर विभिन्न बहानामा ठगी गर्ने कार्यमा आपराधिक समूह सक्रिय रहेको र ती घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा रहेको जनाएको थियो ।

ब्यूरोले सचेत गराउँदै भनेको छ, यदि तपाईंको नाममा चिट्ठा परेको भनेर रकम माग गरियो भने, सामाजिक सञ्जाल ट्र्याक गरी साथीभाइको नाममा रकम माग गरियो भने वा ओटीपी कोड मागियो भने तुरुन्तै सतर्क हुनुपर्नेछ ।

Skip This