प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रममा गएका दुई मन्त्रीको गाडी जुधेपछि…

560
Shares

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चिसापानीमा आयोजना गरिएको रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन गइरहेका दुई मन्त्री सवार सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

मंगलबार बिहान लम्की क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की सवार गाडीहरू एकआपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै भौतिक पूर्वाधार मन्त्रालयको से.१ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा उभिएका एक व्यक्तिलाई अभिवादन गर्न अचानक ब्रेक लगाए । त्यसकै कारण तीव्र गतिमा पछाडि आइरहेको कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो गाडी अगाडिको गाडीमा ठोक्किएको हो ।

दुर्घटनामा मानवीय क्षति नभए पनि कानुनमन्त्री सवार गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने भौतिक पूर्वाधारमन्त्री सवार गाडीको पछाडिपट्टि समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनापछि दुवै मन्त्रीलाई वैकल्पिक सवारीमार्फत कार्यक्रम स्थल चिसापानी पुर्‍याइएको छ । प्रहरी टोलीले घटनास्थलमै पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।