
काठमाडौं । रसुवाको टिमुरेस्थित निर्माण भइरहेको सुक्खा बन्दरगाह सुरक्षाको दृष्टिकोणले अन्य स्थानमा सार्नुपर्ने चिनियाँ निर्माण कम्पनीले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई सुझाव दिएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र रसुवा सुक्खा बन्दरगाह निर्माण गर्ने चीनको तिब्बत फुली कन्सट्रक्सका प्रोजेक्ट म्यानेजर याङ लीबीच सोमबार भएको छलफलको क्रममा निर्माण कम्पनीले विद्यमान निर्माण स्थलबाट अन्यत्रै बन्दरगाह निर्माण गर्नुपर्ने सुझाव दिएको छ ।
अहिले सुक्खा बन्दरगाह रसुवाको टिमुरेस्थित भोटेकोशी खोलाको किनारमा निर्माण भइरहेको थियो । प्राकृतिक प्रकोपको दृष्टिकोणले निर्माण भइरहेको स्थानमा ठूलो लगानी लगाएर निर्माण गर्दा पनि प्राकृतिक प्रकोपको जोखिम यथावतै रहिरहने भन्दै निर्माण कम्पनीका म्यानेजर लीले अर्को सुरक्षित स्थानमा सारेर मात्रै बन्दरगाहको निर्माण गर्नु पर्ने बिषयमा जोड दिएका थिए ।
‘भोटेकोशी किनारमा क्षतिग्रस्त भएको बन्दरगाहको फेरी पुर्ननिर्माण गर्दा जोखिम यथावतै रहने भन्दै निर्माण कम्पनीले अर्को सुरक्षित स्थानमा सारेर मात्रै निर्माण कार्य अघि बढाउन सकिने आशयसहित सुझाव दिएको छ,’ गजुरेलले भने,‘हामीले यो बिषय नेपाल–चीन समन्वय समितिलाई जानकारी गराउन आग्रह गरेका छौं । चीनको उच्च टोलीले अहिले बन्दरगाहको क्षतिको बिषयमा मूल्याँकन गर्ने काम गरिरहेको छ । मूल्याँकनपश्चात् चिनियाँ पक्षबाट आउने सुझावको आधारमा थप प्रक्रिया अघि बढ्नेछ ।’
रसुवाको भोटेकोशीको किनारमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त वन्दरगाह निर्माण भइरहेको थियो । बन्दरगाहको समग्र भौतिक पूर्वाधारको निर्माण ८१ प्रतिशत सम्पन्न भइसकेको अवस्थामा गत् असार २४ गते बिहान चीनको तिब्बतस्थित हिमताल फुटेर ल्हेन्दी खोलामा आएको बाढीका कारण भोटेकोशी नदीमा भिषण बाढी आएको थियो ।
गजुरेलका अनुसार उक्त बाढीको भेलले नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाउनुका साथै निर्माणको अन्तिम चरणमा पुगेको यो बन्दरगाह पनि नराम्ररी ध्वस्त भएको थियो । बाढीको भेलसँगै आएको ठुलठुला ढुङ्गाले बन्दरगाहको भौतिक पूर्वाधार भत्काउनुका साथै बगाएको थियो । बाढीका कारण बन्दरगाह क्षेत्रमा मात्रै १ अर्ब रुपैयाँबराबरको क्षति भएको थियो ।
बाढीका कारण क्षतिग्रस्त बनेको टिमुरे बन्दरगाहको निर्माण प्रक्रिया अघि बढाउने वा पुर्ननिर्माण गर्ने बिषय निर्माण कम्पनीको छलफल पश्चात् अन्यौंलमा परेको छ । चिनियाँ पक्ष अब सकेसम्म टिमुरेको अन्य सुरक्षित स्थानमा मात्रै बन्दरगाह निर्माण गर्ने मनस्थिति बनाइसकेका छन् ।
‘बन्दरगाह निर्माणको सम्पूर्ण आर्थिक प्राविधिक सहयोग चीनियाँ पक्षको भएकाले हामीले बन्दरगाहको निर्माण कार्यलाई अघि बढाउन भन्न मिल्दैन, उनीहरुको आन्तरिक छलफल र सरकारसँग हुने कुटनीतिक वार्तापछि मात्रै यो बन्दरगाहको निर्माणको बिषय अब टुङ्गो लाग्छ, यो बिषय टुङ्गो नलाग्दासम्म निर्माण कार्य रुपमा अवरुद्ध रहने अवस्था सिर्जना भएको छ,’ गजुरेलले भने।
बाढीका कारण बन्दरगाहको ५५ प्रतिशत भौतिक पूर्वाधार क्षतिग्रस्त भएको थियो भने बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदी तर्फ लगाएको रिटेन्सन पर्खाल ४०० मिटर, २ सय ५० सवारी साधन पार्किङ्गको लागि निर्माण भएको कन्क्रिट ढलान पूर्ण रुपमा क्षति भएर बगेको थियो ।
यस्तै २ गोदाममा माटो र ढुंगाले पुरिएको छ भने २ वटा लोडिङ्ग–अनलोडिङ्ग सेड तथा व्याचिङ्ग प्लान्ट क्षतिग्रस्त भएको छ । यसका साथै बन्दरगाह निर्माण कार्यमा संलग्न कामदारमध्ये १४ जना चिनीयाँ नागरिक र ८ जना नेपाली कामदारहरुको मृत्यु भएको भएको थियो ।
यो वन्दरगाह चीन सरकारको २ अर्ब १६ करोड रुपैयाँको सहयोगमा निर्माण भइरहेको थियो । बन्दरगाह निर्माण गर्न नेपाल–चीन सरकारबीच २०७१ असोज ३० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०७१ चैत २७ गते लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो भने २०७६ बैशाख २९ गते नेपाल–चीन सरकारबीच कार्यान्वयन माइन्युटमा हस्ताक्षर भएको थियो ।
समितिका अनुसार २०७९ फागुन २ गते पुरक सम्झौता भएको थियो । पुरक सम्झौताअनुसार आयोजनाको अवधी २०८२ जेठ २४ सम्म तोकिएको थियो । तर २०८१ असोजमा आएको बाढीका कारण आयोजना निर्माण स्थलमा ठूलो क्षति गरेपछि म्याद बढाएर २०८२ फागुन १६ गतेसम्मको लागि म्याद थप गरिएको थियो ।








प्रतिक्रिया