
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भण्डास विप्पर कटेरीस्थित एकै हायू परिवारका १६ जना सदस्य चार दिनदेखि सम्पर्कविहीन भएपछि घटनाले रहस्यमय मोड लिएको छ । सीमान्तकृत र लोपोन्मुख आदिवासी जनजातिमा पर्ने हायू समुदायका उर्मिला हायूको परिवार बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्थानीय वासिन्दाहरूका अनुसार उक्त परिवारले बिहीबार घरमै सुँगुर काटेर भोज गरेको देखिएको थियो । त्यसयता उनीहरूलाई कसैले देखेको छैन ।
सोमबार वडा कार्यालय र प्रहरीको टोली उनीहरूको घर पुग्दा सम्पूर्ण घर सुनसान थियो । खोरमा बाँधिएका गाईबस्तु भोकले छटपटाइरहेका थिए, भान्सामा आंशिक आगलागीको संकेत थियो भने भाँडाकुँडा अस्तव्यस्त अवस्थामा भेटिएका थिए। घरको आँगनमा झण्डै दुई धार्नी सुँगुरको मासु खुला अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, बेपत्ता हुनुअघि हायू परिवारले सीमान्तकृत समुदायका लागि दिइने सामाजिक सुरक्षा भत्ताअन्तर्गत १८ जनाको नाममा तीन महिनाको रकम एकैपटक झिकेको थियो । यो रकम झण्डै ८ लाख रुपैयाँ रहेको बताइएको छ ।
प्रहरीका विहानै देखि घटनाको छानबिनमा सक्रिय छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, बेपत्तामध्ये केही सदस्यहरूको मोबाइल लोकेसन रामेछापको मन्थली आसपास देखिए पनि स्थलगत रूपमा त्यहाँ कोही फेला परेका छैनन् ।
पोखरा पुगेको पुष्टी
बेपत्ता उनीहरू पोखरा पुगेको पाइएको छ । बेपत्ता भएका हायू परिवारका सदस्यहरू गत शनिबार पोखराको न्युरोडस्थित होटल जननीमा पुगेका थिए ।
होटलका अनुसार उनीहरू एक रात मात्र त्यहाँ बसेका थिए । तीन कोठा लिएर बसेका उनीहरू आइतबार बिहान नै होटलबाट चेकआउट भएका थिए । तर उनीहरू कहाँ गए भन्ने थाहा नभएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार राति होटलमा बसेको र आइतबार चेकआउट गरेर हिँडेको पुष्टि भएको र यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
माइली छोरी प्रहरी सम्पर्कमा
यसैबीच, हराएकी भनिएकी मध्ये एक सदस्य माइली छोरी सुजता हायू भने सम्पर्कमा आएको तर उनी काठमाडौंमा बस्दै आएको पाइएको छ ।
उनी काठमाडौंमा प्रहरी सम्पर्कमा आएकी छिन् । तीन महिनादेखि आफ्ना श्रीमान आयुष श्रेष्ठसँग काठमाडौंमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, सुजता र उनका श्रीमान प्रहरीको सम्पर्कमा आएर आफुहरूले परिवारसँग सम्पर्क गर्न नसकेको बताएका छन् । उनीहरूले आफ्नो परिवारको खोजी गरिदिन पनि अनुरोध गरेका छन् ।
तीन वर्षअघि पनि श्रीमान रहस्यमय ढंगले हराएका थिए
बेपत्ता भएकी उर्मिला हायूका श्रीमान सने हायू तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए। खोजी गर्दा केही महिनामा नजिकैको जंगलमा उनको हाडखोर मात्र फेला परेको थियो । त्यो घटना रहस्यमय रहेको स्थानीयहरूले बताएका छन् । अहिले फेरि पुरै परिवारै हराएको घटनाले गाउँमा थप त्रास फैलिएको छ ।
सरकारी तथ्यांकअनुसार हायू समुदाय नेपालमा लोपोन्मुख जनजातिको सूचीमा परेको छ । २०७८ को जनगणना अनुसार देशभर हायू समुदायको संख्या जम्मा ३ हजार ६९ मात्र छ ।








प्रतिक्रिया