सगरमाथा आरोहणमा ३२ विश्व रेकर्ड, चुचुरोमा विहे गर्नेदेखि नाङ्गै बस्नेसम्म (सूचीसहित)

469
Shares

काठमाडौं । सगरमाथा आरोहणका क्रममा हालसम्म विभिन्न ३२ वटा विश्व रेकर्ड कायम भएका छन् । सरकारी निकाय पर्यटन विभागलाई जानकारी दिएर आरोहणमा गएका र औपचारिक रुपमा अनुमति लिएका यी आरोहण सम्बन्धी विश्व रेकर्ड सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहणदेखि सन् २०२५ को वसन्त ऋतुमा भएको एकै व्यक्तिको ३१ पटक चुचुरोमा पुगेकोसम्म छ ।

पर्यटन विभागले सार्वजनिक गरेको सन् २०२५ को वसन्त ऋतुसम्मको तथ्यांकअनुसार सन् १९५३ को मे २९ मा पहिलोपटक आरोहण गर्ने  नेपाली तेन्जिङ नोर्गे र न्यूजिल्यान्डका सर एडमण्ड हिलारीदेखि अहिलेसम्मको विश्वकीर्तिमानको विवरण राखिएको छ ।

१९७५ को मे १६ मा जापानकी जुनको टाबेईले पहिलो महिला आरोहीका रुपमा सगरमाथा पुगेर कीर्तीमान बनाएकी थिइन् ।

१९७८ को मे ८ मा अस्ट्रियाका पिटर हेबेलर र इटलीका रेनहोल्ड मेस्नरले विनाअक्सिजन पहलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

१९८० को फेब्रुअरी १७ मा पोल्यान्डका क्रिसटोफ वेलिक्की र लेसेक सिचीले पहिलो पटक विन्टर सिजनमा सगरमाथाको सफल आरोहण गरेका थिए । यो उनले गरेको उक्त सिजनको लागि पहिलो कीर्तिमान थियो ।

१९८८ को अक्टोबर १४ मा न्युजिल्यान्डकी लिडिया ब्राडेले अक्सिजन बिनासगरमाथा चढ्ने पहिलो महिला आरोहीका रुपमा आफ्नो नाम दर्ज गराएकी थिइन् ।

१९९० को अक्टोबर ७ मा स्लोभेनियाका आन्द्रेज र मरिजा स्ट्रेम्फेल्ज दम्पत्ति सगरमाथा चढ्ने पहिलो श्रीमान–श्रीमती बने। मरिजा स्लोभेनियनबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला पनि हुन् ।

१९९० को अक्टोबर ७ कै दिन जानोएल रोशे र उनका छोरा रोशे बर्ट्रान (जेबुलोन) सगरमाथा चढ्ने पहिलो बाबु–छोरा बने।

१९९० को अक्टोबर ७ कै दिन १७ वर्षे रोचे बर्ट्रान सगरमाथा चढ्ने सबैभन्दा कान्छा विदेशी (गैर-नेपाली) बने।  यो दिन तीन वटा रेकर्ड कायम भएको थियो ।

१९९२ को सेप्टेम्बर २५ मा अल्बर्टो र फेलिक्स इनुराटेगी दाजुभाइ एकैपटक सगरमाथा चढ्ने पहिलो दाजुभाइ बने।

१९९३ को अप्रिल २२ मा नेपालकी पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने पहिलो नेपाली महिला बन्न सफल भइन्। विडम्बना उनी अप्रिल २३ मा सगरमाथा आरोहण सकेर पर्कदै गर्दा हिउँपहिरोमा परेर ज्यान गुमाइन् ।

१९९८ मा अमेरिकाका थोमस व्हिटेकरले कृतिम खुट्टाबाट सगरमाथा चढेर रेकर्ड बनाए । उनी सगरमाथा आरोहण गर्ने पहिलो अपांग व्यक्ति हुन् ।

२००० मा बाबु छिरी शेर्पाले सबैभन्दा छोटो समयमा अर्थात १६ घण्टा ५६ मिनेटमा सर्वोच्च शिखर आरोहण गरेर चढ्ने रेकर्ड बनाए । उनले २१ घण्टा अक्सिजनविना सगरमाथाको शिखरमै बिताएर पनि रेकर्ड कायम गरे ।

२००१ को मे २३ मा नेपालका १६ वर्षीय तेम्बा छिरिङ शेर्पा सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छा आरोही बनेका छन् ।

२००१ को मे २५ मा अमेरिकाका एरिक वेहेनमेयरले दृष्टिविहीन अवस्थामा सगरमाथा गरे । उनले दृष्टिविहीनका रुपमा सगरमाथा आरोहरण गर्ने  पहिलो व्यक्तिका रुपमा कीतिमान बनाए ।

२००२ को मे १६ मा पेम्बा डोमा शेर्पाले दक्षिणतर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्तिका रुपमा नाम लेखाएकी छन् ।

२००३ को मे २२ मा नेपालको कान्तिपुर दैनिकका संवाददाता आङछिरिङ शेर्पाले पहिलो नेपाली पत्रकारका रुपमा सगरमाथा आरोहण गरेको रेकर्ड छ ।

२००३ को मे २६ मा लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमै शिखर चढेर तीव्र आरोहणको विश्व कीर्तिमान बनाएका छन् ।

२००३ को मे २६ मा लाक्पा गेलु, दा नुरु र जाङबु शेर्पाका तीन दाजुभाइले एउटै दिन सगरमाथा सफलरुपमा चढे। एकैदिन सगरमाथा शिखरमा पुग्ने तीन दाजुभाइका रुपमा उनीहरले विश्व रेकर्ड बनाएका छन् ।

२००४ को मे २१ मा पेम्बा दोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा बेसक्याम्पदेखि सगरमाथा शिखरसम्म पुगेर सबैभन्दा छिटो आरोहणको आरोहण गरेर नयाँ कीर्तिमान लेखाएका छन् ।

२००५ को मे २४ मा नेपालका २४ वर्षीया मोनी मुलेपाती र २३ वर्षीय पेम दोर्जीले सगरमाथाको शिखरमै बिहे गरेर कीर्तिमान कायम गरेका छन् ।

२००६ मे २४ मा खुम्जुङ–९, सोलुखुम्बुका २५ वर्षीय लाक्पा थार्के शेर्पाले माइनस ४० डिग्री तापक्रममा आफ्नो शरीरको माथिल्लो भाग नाङ्गै राखेर तीन मिनेट शिखरमा बसेर नयाँ रेकर्ड बनाएका थिए ।

२००७ मे २३ मा दोलखाको लामाबगरका पेमा थार्के शेर्पाले सगरमाथा आरोहण गरेपछि, एउटै आमाबुबाका सातै छोराले सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम भएको थियो । उनका बुबा निम छिरी शेर्पा, आमा पेम बुटी शेर्पा र उनका दाजुभाइहरु आङ छिरी शेर्पा, निम तेम्बा शेर्पा, निमा गोम्बु शेर्पा, मिङ्मा छिरि शेर्पा, थुन्डु शेर्पा, पासाङ तेन्जिङ शेर्पा सगरमाथा आरोहण गरेर रेकर्ड राखे ।

२००८ मे २२ मा ४८ वर्षीय अप्पा शेर्पाले १८औँ पटक सगरमाथा चढेको रेकर्ड बनाएका थिए ।

२००८ मे ५ मा ७७ वर्षका म्याग्दीका मीनबहादुर शेरचन सगरमाथा चढ्ने सबैभन्दा ज्येष्ठ व्यक्ति बने।

२००८ को मे २२ मा एकैदिन १३५ जनाले एकैदिन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाए । २००८ को वसन्त ऋतुमा पहिलो समावेशी महिलाको सगरमाथा अभियानका सबै सदस्यले शिखर चुमेर बनाएको कीर्तिमान पनि विश्व रेकर्डको रुपमा दर्ज भएको छ ।

२०११ मे १८ मा नेपाल सरकारका  पूर्वमुख्यसचिव तथा तत्कालीन सचिव लीलामणि पौडेलको नेतृत्वमा नौ जना नेपाली निजामती कर्मचारीले सगरमाथा आरोहण गरेर पनि विश्व रेकर्ड बनाएका छन् ।

२०१९ को मे २२ मा २२३ र २३ मा २१२ जना आरोहीले शिखर चढेका थिए । यो एकै दिन सगरमाथा चढ्ने उक्त संख्या हालसम्मकै उच्च भएको रेकर्डमा छ ।

२०१९ को मे २२ मा नापी विभागका प्रमुख खिमलाल गौतमको नेतृत्वमा “सगरमाथा उचाइ मापन अभियान २०१९” टोलीले शिखर पुगेर उपकरण जडान गरेको विषय पनि रेकर्डमा छ । उनी दुईपटक आरोहण गर्ने पहिलो सर्वेक्षक हुन् ।

२०२० को डिसेम्बर ८ मा नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर घोषणा गरे। यो “सगरमाथा उचाइ मापन अभियान २०१९” बाट प्राप्त तथ्याङ्कमा आधारित थियो।

२०२५ को मे २५ मा नेपालका कामी रिता शेर्पाले ३१औँ पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका छन् ।

Skip This