
काठमाडौं । व्यवसायी खुमा प्रसाद अर्यालले मकवानपुर जिल्लाको हेटौंडामा पौने २ अर्ब लगानीमा दाना उद्योग बनाएका छन् । ओम एग्रो प्रालिले १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ लगानीमा हेटौंडामा दाना उद्योग निर्माण गरिरहेको हो।
उद्योगमा प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन हुने छ ।
यस परियोजनाको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट वित्तीय व्यवस्थापन गर्ने योजना थियो । तर निर्माण लागत अपेक्षाभन्दा बढी भएको र समयसमेत ढिला भएका कारण हालसम्म करिब ६९ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
प्रारम्भिक अनुमानअनुसार परियोजनाको लागत १ अर्ब २२ करोड रुपैयाँ थियो। तर निर्माण लागत बढेसँगै नयाँ अनुमानित लागत १ अर्ब ७१ करोड पुगेको हो।
कम्पनीले १ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा बैंकबाट लिई लगानी गर्ने भएको छ भने बाँकी रकम लगानीकर्ताले व्यहोर्ने छन् । कम्पनीले उद्योग निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ।
सन् २०२५ को जुनसम्ममा उद्योगको आर्थिक प्रगति ६९ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीले २०२५ को मेबाट व्यवसायिक कारोबार सुरु गरिसकेको छ । तर, निर्माण कार्य भने सन् २०२६ मा सम्पन्न हुने भएकाले पूर्णक्षमतामा सञ्चालनका लागि अझै समय लाग्ने छ ।
हालसम्ममा १ अर्ब २२ करोड रुपैयाँ लगानी जुटिसकेको छ । जसमा ८५ करोड ४० लाख रुपैयाँ बैंकबाट कर्जा लिएको छ भने ३६ करोड ६० लाख रुपैयाँ लगानीकर्ताले लगानी गरेका छन् । कम्पनीले ग्लोबल आइएमई बैंकसँग कर्जाको लागि सम्झौता गरेको छ ।
नेपालमा दाना उद्योगमा उच्च प्रतिस्पर्धा छ । त्यस्तै यस क्षेत्रमा भारतीय तथा चीनको लगानीकर्ताको आकर्षण रहेको छ । भारतीय लगानीकर्ताले नेपालमा स्काइलर्क एग्रो र निम्बुस ईन्टरनेशनल कम्पनी प्रालिमा ठूलो लगानी गरेको छ भने चिनियाँ लगानीकर्ताले नेपाल वेलहोप एग्री टेक प्रालि र न्यू होप एग्रो बिजनेश प्रालि उद्योगमा लगानी गरेका छन् । उक्त विदेशी लगानी कम्पनीहरुसँग नेपाली उद्योगहरुले प्रतिस्पर्धा गर्न निकै कठिन रहेको कम्पनीले जनाएको छ ।
कम्पनी अध्यक्ष खुमाप्रसाद अर्याल हुन् । उनी गण्डकी मेडिकल कलेज र टिचिङ अस्पतालको पनि अध्यक्ष हुन् भने युनिभर्सल कलेज अफ मेडिकल साइन्स र नेपालगञ्ज मेडिकलको व्यवस्थापन निर्देशक हुन् । साथै उनी खिलुङ कालिका एग्रो फार्मको निर्देशक पनि हुन् । अर्याल नेपाली कांग्रेस निकटका व्यवसायी हुन् ।







प्रतिक्रिया