लाखौं लगानी गरेको फिल्मको कमाइ १८ हजार !

0
Shares

काठमाडौं । नेपाली फिल्म उद्योगमा गत आर्थिक वर्ष २०८१/८२ केही फिल्महरूले राम्रै कमाइ गर्दै नयाँ रेकर्ड बनाए । तर केही फिल्महरू भने यस्ता पनि रहे, जसले दर्शक नै नपाएर निकै नराम्रो हालतमा पुगे ।

यी फिल्महरू न बजारमा चले, न दर्शकको मन जित्न सके । प्रचार प्रसार कमजोर हुनु, कम बजेटमा बन्नु तथा कथावस्तुको सीमितताले पनि ती फिल्महरु चल्न नसकेका हुन सक्ने आकलन गर्न सकिन्छ ।

१. शिरफूल: जम्मा ८९ टिकट बिक्री

यो वर्षको सबैभन्दा कम आम्दानी गर्ने फिल्म बनेको छ ‘शिरफूल’। यसले जम्मा १८ हजार ५ सय रुपैयाँ मात्रै कमायो । रिपोर्ट अनुसार देशभरि मिलाएर पनि यस फिल्मका मात्र ८९ वटा टिकट बिक्री भएका थिए । लाखौं लगानी गरेको फिल्म १८ हजारको मात्र व्यापार गरेको हो ।

शिरफूल कथात्मक हिसाबले राम्रै भए पनि यसले व्यापार गर्न सकेन ।

चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको थियो । राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको थियो भने । आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । कमल एक्चै मगरको निर्देशन रहेको थियो।

२. ख्या वाला : दुई दर्जनभन्दा कम हलमा चलेर चुपचाप हरायो

ख्या वाला चलचित्रले पनि निकै कमजोर प्रदर्शन गर्‍यो । यसले जम्मा २७ हजार ६ सय रुपैयाँ मात्र कमायो । यस्तो आम्दानी त कुनै म्युजिक भिडियोको युट्युब प्रमोशन बजेटभन्दा पनि कम हो।

यो फिल्म आदिवासी समुदायसँग जोडिएको विषयमा आधारित थियो । तर यसको प्रदर्शन धेरै हलमा भएन, प्रचार पनि देखिएन, अनि सामाजिक सञ्जालमा पनि यो फिल्मबारे खासै चर्चा भएन।

३. गाले वाना : दर्शकले चिन्नै नपाएको फिल्म

तेस्रो कमजोर व्यापार गर्ने फिल्म हो गाले वाना, जसले जम्मा २१ हजार ६ सय रुपैयाँ कमायो । यो पनि आदिवासी समुदाय र भाषा नजिकको कथावस्तु थियो । यस्ता फिल्महरू समाजमा विविधता ल्याउने महत्वपूर्ण माध्यम हुन्, तर बजारमा दर्शकसामु भने पुग्न सकेनन् ।

४. एक्टर : नाममात्रको चर्चा, व्यापार कमजोर

‘एक्टर’ नामको फिल्मबाट अलिकति आशा गरिएको थियो किनभने नाम नै थोरै चाखलाग्दो थियो । तर परिणाम निकै कमजोर रह्यो। यो फिल्मले जम्मा ३३ हजार रुपैयाँ कमायो ।

यो फिल्म प्रचार प्रसारमा अगाडि देखिए पनि एसका कथा वस्तुले दर्शकलाई हल सम्म तान्न सकेन। नाम सुन्दा लाग्ने ‘स्टारडम’ थियो , र पनी दर्शक हलसम्म आएनन्।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय थियो । ‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका थिए ।

५. आँखाले ९२ हजार मात्र देख्यो

पाँचौं स्थानमा रहेको चलचित्र ‘आँखा’ ले ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो । लगानीकर्ताले आँखाले करोडौंको आम्दानी गर्छ की भन्ने सोचेका थिए तर आँखा ले ९२००० भन्दा माथि देख्न पाएन । यस फिल्मले केही हलमा प्रदर्शन पाए पनि दर्शक संख्याले मुनाफा निकाल्न सकेन। निर्देशक जौन योन्जनकै कथा, पटकथा रहेको यस चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य अभिनय रहेको थियो । यो चलचित्र ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको थियो ।

२०८१/८२ मा सर्वाधिक कमाइ गर्ने फिल्म

कुनै फिल्मले १८ हजार रुपैयाँमात्र कमाइ गर्दा गत आर्थिक वर्षमा कतिपय फिल्म भने सुपर हिट भए । पूर्णबहादुरको सारंगी, १२ गाउँ, छक्कापञ्जा लगायको फिल्म करोड क्लबमा मात्र चढेनन् उनीहरुको चर्चा रंगमञ्चमा छाइरह्यो । त्यसमध्ये सबैभन्दा धेरै कमाउने फिल्म पू्र्णबहादुको सारंगी हो जसले ४७ करोड आसपासको व्यापार गर्न सफल भयो ।

कुन फिल्मले कति कमाए ?

१) पूर्णबहादुरको सारंगी – ४६ करोड ८० लाख रुपैयाँ
२) १२ गाउँ – १९ करोड ९२ लाख रुपैयाँ
३) छक्कापञ्जा ५ – १५ करोड २० लाख रुपैयाँ
४) बोक्सीको घर – १० करोड २ लाख रुपैयाँ
५) अञ्जिला – ७ करोड ५० लाख रुपैयाँ
६) पूजार सार्की – ७ करोड ३७ लाख रुपैयाँ
७) घरज्वाइँ – ५ करोड ९ लाख रुपैयाँ
८) फर्की फर्की – ४ करोड ८४ लाख रुपैयाँ
९) मनसरा – ४ करोड ७८ लाख रुपैयाँ
१०) लाज शरणम् – ४ करोड ३४ लाख रुपैयाँ

यस्तै, ‘ह्रस्व दीर्घ’ले ४ करोड ३३ लाख रुपैयाँको आम्दानी गर्दै ११ औं स्थानमा रहेको छ भने ‘गाउँ आएको बाटो’ ४ करोड १९ लाख र ‘होस्टेल ३’ ले ४ करोड ५ लाख रुपैयाँको व्यापार गरेको छ। माथिका १२ वटा चलचित्रले मात्र जम्मा १ अर्ब ३४ करोड रुपैयाँको कारोबार गरेका छन्। यसवर्ष १० करोड क्लबमा जम्मा चारवटा चलचित्र मात्र पुग्न सफल भए । भने जम्मा १२ वटा चलचित्रले समुर्ण सिने क्षेत्रको ७४.४४ प्रतिशत व्यापार ओगटेको देखिन्छ। केही चलचित्रले भने आफ्नो लगानी सुरक्षित गर्न सकेनन्।