
काठमाडौं । पछिल्लो २० कारोबार दिनमा सेयर बजार तीन दिनबाहेक सबै दिन उकालो लाग्यो । गएको असार १२ गते २५९५ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्लो २० कारोबार दिनमा १७ दिन बढ्दा ३८७ अंकको वृद्धिका साथ बिहीबार (साउन ८) २९८२ बिन्दुमा छ ।
असार २३ मा २२.३५ अंक, असार २४ मा ०.१८ अंक र असार ३० मा ३५.०९ अंकले घट्नुबाहेक अन्य १७ दिन भने नेप्से बढेको हो । यो बीचमा साउन ६ गते नेप्से एकै दिन ८०.९७ अंक र साउन १ गते ७५.८४ अंकसम्मले बढ्यो । हाल सेयर बजार ३००० बिन्दुमा उक्लिने पर्यत्नमा देखिन्छ ।
साउन ७ (बुधबार) नेप्से २९९२.२६ बिन्दुसम्म पुगेपनि कारोबार बन्द हुने समयमा भने २९७८ बिन्दुमा सीमित भयो । यद्यपि, अब बजार ३००० बिन्दुको अत्यन्त नजिक अर्थात् १८ अंकले मात्रै तल छ । गत वर्ष असारको दोस्रो साताबाट उकालो लागेर ३००० बिन्दुसम्म पुगेको नेप्से त्यसबाट भने घट्न थालेको थियो ।
तर, यस वर्ष पनि बजार सोही समयबाट नै उकालो लाग्न सुरु गरेको छ भने रेकर्ड ब्रेक हुने चर्चा पनि भइरहेका छन् । गत वर्ष अर्थात् २०८१ असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो । जुन २०७८ भदौ २ गतेको ३१९९.०३ (त्यसदिन ३२२६) बिन्दुपछिकै उच्च थियो ।
गत वर्ष साउनको अन्तिम दिनसम्म उकालो लागेको नेप्से भदौ लागेपछि भने घट्न सुरु गरेको थियो । अब बजार हालसम्मकै उच्च ३२२६ बिन्दुभन्दा २३४ अंकले मात्रै टाढा छ । सेयर कारोबार रकमले पनि बजार मजबुद रहेको संकेत गरिरहेको छ । पछिल्लो छ कारोबार दिनमा मात्रै नेप्सेमा दैनिक औषत साढे १८ अर्ब रुपैयाँको कारोबार भएको देखिन्छ।
अधिकांश सेयर लगानीकर्ता तथा विश्लेषकले पनि यो पटक सेयर बजारले नयाँ किर्तिमानी कायम गर्ने दाबी गर्दै आएका छन् । साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी समग्र विषय हेर्दा यो पटक सेयर बजारले नयाँ रेकर्ड बनाउने सम्भावना प्रबल देखिएको बताउँछन् । वित्तीय सूचक, नीतिगत प्रावधान र समग्र माहोल बजारको पक्षमा रहेको उनको भनाइ छ ।
‘सूचक ३/४ सय अंकले उकालो लाग्दा पनि कतिपय क्षेत्रको सूचक अझै बढ्न बाँकी नै देखिन्छ । बैंकिङ समूह इन्डेक्स पनि अझै तुलनात्मकरुपमा न्यून बिन्दुमा नै छ,’ जिसी भन्छन्, ‘यसका अलावा मौद्रिक नीतिका कारण पनि वित्तीय विवरण पनि सकारात्मक नै आउने देखिन्छ । यी समग्र विषय हेर्दा बजारले नयाँ रेकर्ड बनाउने सम्भावना उच्च छ ।’
बजेट आएको र मौद्रिक नीति पनि बजारको हितमा आइसकेकाले नीतिगत रुपमा बजारलाई असर पुर्याउने ठाउँ नरहेको उनले बताए ।
राष्ट्र बैंकमा गभर्नरको रुपमा आएपछिको पहिलो मौद्रिक नीति समीक्षा (आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा)बाट नै डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेर सकारात्मक सन्देश दिएका थिए ।
यसले सेयर लगानीकर्तामा सकारात्मक सन्देश फैलायो । सार्वजनिक मञ्चहरुमा समेत पुँजी बजारको पक्षमा वकालत गर्दै आएका पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा १५ करोडको सेयर धितो कर्जाको सीमालाई १० करोडले बढाउँदै २५ करोडमा पुराए । यी समग्र विषयले बजारमा सकारात्मकता ल्याउँदै गयो र २० कारोबार दिनमै ३८७ अंकको वृद्धि भयो ।
माहोलको हिसाबमा मात्रै नभई बजारको साइकलले पनि यस पटक सेयर बजार माथि पुग्ने देखाएको सेयर लगानीकर्ता देव गुरागाईं बताउँछन् । ‘बजार कसरी अगाडि बढ्छ र कस्तो हुन्छ भन्ने विषय बुझ्न बजार साइकल महत्वपूर्ण हुन्छ,’ गुरागाईं भन्छन्, ‘समग्र बजार साइकल हेर्दा यो पटक नेप्सेले अलटाइम हाई रेकर्ड ब्रेक गर्ने सम्भावना उच्च छ ।’ उनले माहोल र बजार साइकल दुबैलाई हेर्दा नेप्सेले नयाँ उचाई लिने सम्भावना बढी देखिएको बताए ।
एक महिनामा समूहगत इन्डेक्समा २१ प्रतिशतसम्मको वृृद्धि
पछिल्लो केही साता यता सबै समूह पालैपालो चलिरहेका पनि छन् । गत साता लगानी समूह सूचक ४.६६ प्रतिशत, व्यापार समूह १.५४ प्रतिशत, फाइनान्स समूह २.०९ प्रतिशत, जीवन बिमा समूह ५.०८ प्रतिशत, म्युचअल फन्ड १.४३ प्रतिशत र निर्जीवन बिमा समूह ४.०५ प्रतिशतले बढ्यो ।
यस्तै, गत साता बैंकिङ समूह ०.३० प्रतिशत, उत्पादन समूह ३.६६ प्रतिशत, विकास बैंक समूह ३.७७ प्रतिशत, होटल तथा पर्यटन समूह ४.३८ प्रतिशत, जलविद्युत् समूह ४.९० प्रतिशत र लघुवित्त समूह ५.०४ प्रतिशतले बढ्यो ।
पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने पनि सबै समूह सकारात्मक लयमा नै देखिन्छन् । गएको एक महिनामा लगानी समूह सूचक ११.९१ प्रतिशत, व्यापार समूह २.४१ प्रतिशत, फाइनान्स समूह १५.३९ प्रतिशत, जीवन बिमा समूह १५.१४ प्रतिशत, म्युचअल फन्ड ७.५९ प्रतिशत र निर्जीवन बिमा समूह १३.६३ प्रतिशतले उकालो लागेको छ।
यस्तै, पछिल्लो एक महिनामा बैंकिङ समूह १५.९० प्रतिशत, उत्पादन समूह ११.६१ प्रतिशत, विकास बैंक समूह १९.९० प्रतिशत, होटल तथा पर्यटन समूह १०.७२ प्रतिशत, जलविद्युत् समूह ११.८४ प्रतिशत र लघुवित्त समूह २१.४१ प्रतिशतले बढ्यो ।
यस अवधिमा केही कम्पनीको सेयर मूल्य भने हालसम्मकै उच्च पुगिसकेको छ । यो अवधिमा सीईडीबी होल्डिङ्स कम्पनीको सेयर मूल्य २ हजार ९३९ रुपैयाँ, नेपाल पुनर्बिमा कम्पनीको १ हजार ५९८ रुपैयाँ, बुटवल पावर कम्पनीको १ हजार ३३ रुपैयाँ र राधी विद्युतको ८७० रुपैयाँ प्रतिकित्ता पुगिसकेको छ ।
नेप्सेका अनुसार कालिका पावरको पनि हालसम्मकै उच्च अर्थात् ६४८ रुपैयाँ, सान्भी इनर्जीको ५७७ रुपैयाँ, ट्रेड टावरको ६४८ रुपैयाँ, सांग्रिला डेभलपमेन्टको ४९३ रुपैयाँ र ङादी ग्रुप पावरको ४४६ रुपैयाँ मूल्य पुगिसकेको छ । यद्यपि, पछिल्लो बुलको तुलनामा धेरै कम्पनीको सेयर मूल्य कम छ भने अधिकांश समूह इन्डेक्स न्यून स्थितिमा नै छन् ।
हाल सेयर बजारको माहोल र वित्तीय सूचक पनि सकारात्मक अवस्थामा छन् । यसैपनि यो साउन तथा भदौ महिनालाई बजार वृद्धिको समयको रुपमा समेत व्याख्या गर्ने गरिन्छ । अर्कोतर्फ, ठूलो मात्रामा सेयर कर्जा प्रवाह भएको छ भने विशेषगरी, ठुला र संस्थागत लगानीकर्तातर्फ बढी कर्जा गएको छ । बैंकहरुले त्रैमास अन्त्यको वित्तीय विवरण प्रकाशन गर्ने समय थपिएपछि वित्तीय विवरण पनि सकारात्मक आउने आँकलन भइरहेका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गरेको हुने व्यवस्था गरेको थियो भने चौथो त्रैमासको वित्तीय विवरण साउन ३० गतेभित्र प्रकाशन गरे हुने बनाएको छ । यसले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सकारात्मक आउने र त्यसले पनि बजारलाई चलयमान बनाउन मद्दत गर्ने विषयहरु आइरहेका छन् । यसले पनि लगानीकर्ताको मनोबल उकास्ने काम गरिरहेको देखिन्छ ।







प्रतिक्रिया