कम्बोडियाले आक्रमण गर्दा थाइल्याण्डमा ८ जनाको मृत्यु, एफ १६ लडाकु विमानले बम खसाल्यो

को-कति बलियो ?

2.2k
Shares

एजेन्सी । कम्बोडिया र थाइल्याण्डबीचको विवादास्पद सीमा क्षेत्रमा बिहीबार भएको हिंसात्मक झडपमा थाइल्याण्डका कम्तीमा ८ नागरिकको मृत्यु भएको छ । थाई प्रहरीले घटनाको पुष्टि गरेको सीएनएनले जनाएको छ ।

थाई सार्वजनिक प्रसारक पीबीएसले सिसाकेट प्रान्तको कान्थारालक जिल्लाका प्रमुखलाई उदृत गर्दै बताएअनुसार सीमा नजिकको बान नाम येन क्षेत्रमा एक पसलमा रकेट प्रहार हुँदा उनीहरूको मृत्यु भएको हो । यो क्षेत्र कम्बोडियाको सीमाभन्दा झण्डै २० किलोमिटर टाढा पर्छ।

थाई अधिकारीहरूका अनुसार कम्बोडियाली सेनाले सुरिन प्रान्तको कप छोएङ जिल्लामा नागरिक क्षेत्रमा दुई वटा बीएम २१ रकेट प्रहार गरेका थिए जसमा तीन जना सर्वसाधारण घाइते भएका छन् ।

थाईल्यान्डको परराष्ट्र मन्त्रालयले बिहीबार कम्बोडियाबाट नागरिक क्षेत्रमा आक्रमण जारी रहेको बताएको छ, जसमा फानम डोङ राक अस्पताल समेत लक्षित भएको थियो ।

मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा भने, ‘यी आक्रमणले थप जनधनको क्षति र थाई जनतामा घाइतेको संख्या बढाएको छ।’

यसको जवाफमा कम्बोडियाले एक विज्ञप्ति जारी गर्दै थाई एफ १६ लडाकु विमानले कम्बोडियाको सडकमा दुईवटा बम खसालेको आरोप लगाएको छ। कम्बोडियामा कति मानवीय क्षति भएको भन्नेबारे भने तत्काल जानकारी सार्वजनिक गरिएको छैन ।

थाई सैन्य अधिकारीहरूले साना हातहतियारदेखि लिएर ठूला हतियारसम्म प्रयोग गर्दै झडप ६ वटा स्थानमा फैलिएको जनाएका छन् । यिनमा सुरिन, सिसाकेट र उबोन राचाथानी प्रान्तहरू समेटिएका छन्।

हिंसा बिहीबार बिहान सुरिन प्रान्तस्थित पुरानो विवादास्पद टा मुएन थोम मन्दिर क्षेत्रबाट सुरु भएको थियो, जुन थाईल्यान्डमा पर्छ तर कम्बोडियाले पनि त्यसलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ ।

दुवै देशले पहिलो आक्रमण अर्को पक्षबाट भएको दाबी गरेका छन्।

कम्बोडियाले सबै प्रभावित क्षेत्रहरू कम्बोडियाको भूमिमा पर्ने र आफ्ना सुरक्षाबलहरूले त्यसलाई सुरक्षा दिइरहेको प्रतिक्रिया दिएको छ।

कसको सैन्य शक्ति कति ?

थाईल्यान्डको सैन्य शक्ति कम्बोडियाको तुलनामा धेरै बलियो छ। थाइल्यान्डसँग करिब ३ लाख ६१ हजार सक्रिय सैनिक छन्, जुन कम्बोडियाको जनशक्तिको तीन गुणा बढी हो ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थान (आईआईएसएस) को ‘मिलिटरी ब्यालेन्स २०२५’ प्रतिवेदन अनुसार थाइल्याण्डसँग आधुनिक लडाकु विमान, ट्याङ्क र आर्टिलरी रहेको छ भने कम्बोडियासँग अधिकांश पुराना चिनियाँ वा सोभियत बनोटका हतियार मात्र छन् ।

थाई वायुसेनासँग ११ वटा आधुनिक स्विडेनी ग्रिपेन जेट, दर्जनौँ पुराना अमेरिकी एफ १६ र एफ-५ विमान छन् । अर्कोतर्फ, कम्बोडियासँग लडाइँ गर्न सक्ने वायुसेना नै छैन ।

स्थल सेनामा पनि थाई सेनासँग चिनियाँ भीटी ४ ट्याङ्क र सयौँ पुराना अमेरिकी ट्याङ्क छन् भने कम्बोडियासँग झण्डै २०० पुराना ट्याङ्क छन्।

थाइल्याण्डले अमेरिकी सहायता र तालिममार्फत सुदृढ सेना विकास गरेको छ । अमेरिकी ‘मेजर नन-नाटो एलाय’ को रूपमा थाइल्याण्डले लामो समयदेखि अमेरिका, इजरायल, इटाली, रूस, दक्षिण कोरिया र स्विडेनजस्ता देशहरूबाट हतियार प्राप्त गर्दै आएको छ।

थाइ सेना अमेरिकी इन्डो-प्यासिफिक कमाण्डसँग सह-आयोजक रहेको वार्षिक ‘कोब्रा गोल्ड’ सैन्य अभ्यासमा समेत सहभागी हुने गरेको छ । सन् १९८२ मा सुरु भएको कोब्रा गोल्ड विश्वकै सबैभन्दा लामो समयदेखि हुँदै आएको अन्तर्राष्ट्रिय सैन्य अभ्यास हो।