
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित सिन्टीटारमा बिहीबार बिहान एक हृदयविदारक घटना सार्वजनिक भएको छ । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई किशोरी १५ वर्षीया सिर्जना कँडेल र १७ वर्षीय मेनुका कँडेलको शव फेला परेको हो ।
उनीहरू सुर्खेत पञ्चपुरी नगरपालिका–८ का स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ । स्थानीय चक्रधर प्रजापतिको दुई तले घरको भुइँतलामा दुई हप्ताअघिमात्र कोठा भाडा लिएर उनीहरु बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरले अनुसन्धानका क्रममा आत्महत्याअघि उनीहरूले मोबाइलको सेल्फीमोडमा एउटै डोरीको पासो लगाउँदै फोटो खिचेको फेला परेको छ । ती फोटो प्रयोग ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’ बोलको गीतमा टिकटक भिडियो बनाइएको फेला परेको छ ।
घटनास्थलबाट बरामद मोबाइलमा उक्त भिडियो फेला परेको प्रहरीको भनाइ छ ।
मेनुका र सिर्जनाका बाबुआमा रोजगारीका लागि भारतमा रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको कलंकीमा उनीहरूको आफन्त बस्ने गरेको पाइएको छ । दुवै दिदीबहिनी भारतबाट भागेर नेपाल आएका थिए । भारतमै उनीहरू हराएको सूचना विभिन्न मिडियाबाट सार्वजनिकसमेत भएको थियो ।
दुई जना एउटै डोरीमा झुण्डीको फेला परेपछि प्रहरीले उनीहरुको मोबाइद्य जाँच गरेको थियो । पहिचान पत्ता लगाउन प्रयास गरेको प्रहरीलाई उनीहरुको सामाजिक सञ्जालले केही सहज बनायो । मोबाइल जाँच गर्दा उनीहरूले आत्महत्याअघि फेसबुकमार्फत बाबुको भारतमा चल्ने नम्बर सार्वजनिक गरेका थिए ।
उनीहरुकी कान्छीआमा कलंकीमा बस्दै आएको पाइएपछि उनलाई प्रहरीले खबर गरेपछि उनी घटनास्थल पुगेका छन् ।








प्रतिक्रिया