भारतका उपराष्ट्रपतिले किन अचानक दिए राजीनामा ? बाहिरियो रोचक रहस्य

1.6k
Shares


एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखडले अचानक पदबाट राजीनामा दिएका छन् ।

दुई वर्ष कार्यकाल बाँकी रहँदै सोमवार राति स्वास्थ्यको कारण देखाएर उनले दिएको राजीनामालाई राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकार गरेकी छन् ।

अघिल्लो दिनसम्म सक्रिय रहेका धनखडले स्वास्थ्यका कारण देखाएर अचानक किन राजीनामा दिएका हुन् भनी सोधखोज भइरहेको छ । विपक्षी दलका नेताहरूले स्वास्थ्यका कारण धनखडले राजीनामा दिएको कुरालाई पत्याइरहेका छैनन् ।

उनले अचानक राजीनामा दिनुमा उच्च अदालतका न्यायाधीश यशवन्त वर्माविरुद्ध लगाइन खोजेको महाअभियोग प्रमुख कारण रहेको बताइएको छ ।

गत मार्च महिनामा होली पर्वको छेउछाउ न्यायाधीश वर्माको घरमा आगो लागेपछि ठूलो संख्यामा नगद रहेको कुरा पत्ता लागेको थियो । उनले घूस खाएर त्यो नगद जम्मा गरेको हुन सक्ने आशंका गरिएको थियो ।

घटनाको छानबिन गर्नका लागि सर्वोच्च अदालतले तीन सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले नयाँ दिल्लीस्थित वर्माको निवासमा नगद फेला परेको निष्कर्ष निकालेको थियो ।

त्यसपछि मे ८ मा तत्कालीन प्रधानन्यायाधीश सञ्जीव खन्नाले समितिको निष्कर्ष राष्ट्रपति मुर्मुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि बुझाएका थिए ।

त्यसपछि विपक्षी दलका सांसदहरूले वर्माविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्न खोजेका थिए । त्यस प्रस्तावमा २०० जना सांसदले हस्ताक्षर गरिसकेको बताइन्छ ।

सोमवार संसद्को वर्षाकालीन सत्रको बैठकमा विपक्षी सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । राज्यसभाका अध्यक्षका रूपमा धनखडले त्यो प्रस्तावलाई स्वीकार गर्दै संसद्का महासचिवलाई आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएका थिए ।

धनखडको यो सक्रियतालाई केन्द्र सरकारले मन नपराएको बुझिएको छ । सरकारले न्यायाधीश वर्माको आडमा न्यायपालिकामा रहेको भ्रष्टाचारका विरुद्ध मोर्चा खोल्ने योजना बनाएको थियो । तर, धनखडले विपक्षी दलहरूको महाअभियोग प्रस्तावलाई स्वीकार गरेर त्यो अवसरबाट वञ्चित गरिदिएको केन्द्र सरकारको बुझाइ छ ।

एनडीटीभीले स्रोतहरूलाई उद्धृत गर्दै दिएको समाचारअनुसार, केन्द्र सरकारले उपराष्ट्रपतिलाई फोन गरेर यसको बारेमा कुरा गरेको थियो । तर, उपराष्ट्रपतिले चर्को कुरा गरेपछि फोनमै वादविवाद बढेको बताइन्छ । कुरा गर्दै जाँदा उपराष्ट्रपतिले आफ्नो पदको तागत देखाइदिने भनेर धम्की दिएको पनि बताइएको छ ।

त्यो विवादित फोनवार्तापछि धनखडका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पहल सरकारले नै थालेको थियो । ६ महिनाअघि मात्र विपक्षी दलहरूले धनखडका विरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए तर राज्यसभाका उपाध्यक्ष हरिवंशले १४ दिनको सूचना नदिइकन प्रस्ताव ल्याइएको र धनखडको नाम पनि गलत लेखिएको भनी उक्त प्रस्तावलाई खारेज गरिदिएका थिए ।

आफूविरुद्ध सत्तारूढ सांसदहरूले नै अविश्वास प्रस्ताव दर्ता गर्न लागेको सुइँको पाएपछि धनखडले राजीनामा दिएका हुन् । पदबाट निकालिनुभन्दा आफैंले छोडेर जानु बढी इज्जतिलो हुने उनी जस्ता पुराना राजनीतिक खेलाडीले नबुझ्ने कुरै हुँदैनथियो ।

उपराष्ट्रपति धनखडले बिदाइ भाषण समेत नगर्ने बताइएको छ । सरकारले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । विपक्षीहरूले यो राजीनामा रहस्यमय भएको बताएका छन् ।