
काठमाडौं । तेह्रथुको आठराईमबाट झापा झरेको प्रसाईं परिवारका एक सामान्य सदस्य आज अर्बौंको साम्राज्यको मालिक बनेका छन् । आफूलाई भैंसी गोठालोबाट मेडिकल व्यवसायी बनाएका दुर्गा प्रसाई कालान्तरमा राजनीतिक व्यक्ति, बैंकविरोधी अभियानका नेता र हालै राजावादी अभियानका संयोजकका रुपमा समेत परिचित छन् ।
यसअघि पनि पटकपटक पक्राउ परेको छुटेका प्रसाईं हाल भने राजावादी आन्दोलनमा दुई जनाको ज्यान गुमेको, करोडौंको क्षति हुने गरी सार्वजनिक र निजी सम्पत्तिमाथि विध्वंश मच्चाएको र उच्च ओहोदाका व्यक्तिहरुलाई धम्की दिएको कारण पुर्पक्षका लागि थुनामा छन् ।
कुनै समय थियो, उच्च राजनीतिक पहुँच र आशालाग्दो व्यावसायिक योजनाका भरमा प्रसाईंले बैंकबाट अर्बौं रुपैयाँ कर्जा लिएका थिए । देशका दुई ठूला कम्युनिस्ट पार्टीका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई घरमै बोलाई २०७४ सालमा मार्सी चामलको भात खुवाएर चर्चाको अग्रपंक्तिमा आएका प्रसाईंललाई मेडिकल व्यवसाय तथा राजनीतिमा पाएको आरोह–अवरोहले कहिले प्रख्यात त कहिले कुख्यात बनायो । प्रसाईंलाई मार्सी र माफिया उपनामले पनि धेरैले चिन्छन् ।
ड्रिम प्रोजेक्ट बीएन्डसी मेडिकल कलेजले सम्बन्धन नपाउँदा प्रसाईंको व्यावसायिक शाख गुम्दै गएको मात्र थिएन, उनलाई निकै एग्रेसिभ बनाइरहेको थियो ।
जथाभावी बोल्ने, राजनीतिक दल फेरिरहने, बैंकका कर्मचारीलाई कालोमोसो दल्ने जस्ता गतिविधि गरेर चर्चा कमाउन खोज्ने प्रसाईं प्रख्यात व्यवसायीबाट कुख्यात बनिसकेका थिए ।
बैंकबाट लिएको कर्जा नतिरेर उल्टै सर्वसाधारणलाई ऋण नतिर्न उक्साउँथे । एक हिसाबले नेता, कर्मचारी, अरु व्यवसायी, बैंकर सबैको नजरमा कालोसूचीमा परिसकेका थिए प्रसाईं । नेता चाहीँ बैंकबाट ऋण लिएर तिर्न नचाहनेहरुको थिए उनी ।
अर्बौं लगानी भइसकेको उनको मेडिकल कलेजलाई सम्बन्धन दिन अस्वीकार गरेर राज्यले प्रसाईंलाई बिच्काएको थियो । सरकारले प्रसाईंको मेडिकल कलेजलाई सैद्दान्तिक सहमति (एलओआई) दिएर पनि सम्बन्धन (एफिलिएसन) दिएन ।
एलओआई देखाएर प्रसाईंले विभिन्न बैंकबाट अर्बौं ऋण लिएका थिए । आफूमाथि अन्याय भएको भन्दै न्याय माग्दै उनी सर्बोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । तर बिडम्बना अदालनमा उनले हालेको मुद्दाको पेशी ४७ पटक सर्यो । अदालत धाउँदा धाउँदै प्रसाईंको १२ वर्ष बित्यो ।

सरल भाषामा भन्नुपर्दा प्रसाईं राज्यले सिर्जना गरेको एक विद्रोही थिए । उनी बारम्बार आफ्नो लडाईं राज्यसँग हो भनिरहन्थे । बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिइँदा प्रसाईंलाई लगानीले प्रतिफल दिन सकेको थिएन र बैंकले उनले लिएको कर्जाको किस्ता पाएका थिएनन् ।
अन्ततः व्यावसायिक लडाईंमा सर्वोच्च अदालतले प्रसाईंलाई जित दिलायो । सर्वोच्च अदालतले २०८० चैत १२ गते परमादेश जारी गर्दै शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिन निर्देशन दियो ।
यसैगरी जेठ १४ गते काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको नाममा १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको थियो । उक्त परमादेश पछि २०८१ जेठ २७ गते केयूले बीएन्डसीलाई सम्बन्धन दियो पनि । यस्तै असार ४ गते चिकित्सा शिक्षा आयोगले पनि सम्बन्धन दियो ।

बीएण्डसीले २०६८ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो । २०७१ सालमा ९०० शैयाको मेडिकल कलेज बनाउने गरी वातावरणीय प्रभाव मूल्यांकन गरियो ।
सम्बन्धन पाउन बीएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो । तर त्यससमयमा आयोगले आशयपत्र २०७३ सालदेखि नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन स्वीकृति दिन अस्वीकार गरेको थियो ।
त्यसबीचमा प्रसाईंले ३०० शैयाको क्यान्सर अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पनि पाएका थिए ।
अहिले सम्बन्धन पाएपछि दुर्गा प्रसाईंको साम्राज्य थप ओरालो लाग्नबाट रोकिएको मात्र छैन, उकालो यात्रा तय गर्न थालेको छ ।
२०८१ पुस २५ गतेदेखि बीएन्डसीले एमबीबीएस पहिलो ब्याचको अध्यापन सुरु गरिसकेको छ । यसैगरी बैंकको किस्तास्वरुप सिर्जित दायित्व पनि तिर्न थालिसकको प्रसाईंलाई ऋण दिने बैंकहरुले बताएका छन् ।

तिरेका थिएनन् ७ अर्ब ऋण
स्रोतका अनुसार सम्बन्धन नपाउँदा प्रसाईंले बैंकबाट लिएको करिब ७ अर्बको सावाँ ब्याज तिरेका थिएनन् । उनले कुल ३ वटा परियोजनाका लागि बैंकबाट ऋण लिएका थिए । दुर्गा प्रसाईं संलग्न रहेका ३ परियोजनामा ८ वटा बैंकको करिब ७ अर्ब रुपैयाँ ऋण पुगेको थियो ।
प्रसाईंले सबैभन्दा धेरै ऋण प्रभु बैंकबाट लिएका छन् । होटल र क्यान्सर अस्पतालमा लगानी गरेको बैंकको लगानी १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै ग्लोबल आईएमई बैंकको १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकले प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएन्डसी मेडिकल कलेजमा लगानी गरेको छ ।
त्यस्तै कुमारी बैंकको १ अर्ब १५ करोड पुगेको छ । बैंकले पनि क्यान्सर अस्पताल र मेडिकल कलेजमा लगानी गरेको छ । प्रसाईंको एट्रियम होटलमा लगानी गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकबाट ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७७ करोड, लुम्बिनी विकास बैंकको करिब १५ करोड ३० लाख र गुडविल फाइनान्सको ११ करोड रुपैयाँभन्दा माथि लागेको छ ।
प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालको ब्याज तिर्न सन् २०२१ देखि र बीएन्डसीको २०२४ देखि आनाकानी गरिरहेका थिए ।

छोरालाई बिजनेस ह्यान्डओभरसँगै प्रसाईंको रिनेसाँ
एक समय मेडिकल क्षेत्रमा साम्राज्य बनाइसकेका दुर्गा प्रसाईं व्यवसायमा ३ वर्ष सिथिल रहे ।
अहिले भने प्रसाईंको मेडिकल व्यवसायको पुनरुत्थान भएको छ । एकपल्ट करोडौंको मेडिकल उपकरण जोडेर दक्षिण एशियाकै अत्याधुनिक अस्पतालको रुपमा अघि सारिएको पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएन्डसी मेडिकल कलेजले विद्यार्थी पाएसँगै लय समातेको छ । यस्तै उनको लगानी रहेको होटल एट्रियम पनि एक वर्षभित्र सञ्चालनमा आउने भएको छ ।
यो उपलब्धिलाई पुनर्उदय मानिएको छ । फ्रेन्च शब्दमा रिनेसाँ भनिन्छ, जसको अर्थ पुनर्जन्म भन्ने हुन्छ ।
प्रसाईं राजनीतिमा आएसँगै बीएन्डसीको जिम्मा छोरा निराजनलाई लगाएका थिए । बीएन्डसी निराजनले सम्हालेसँगै कम्पनीको आम्दानी बढेको छ, कम्पनी सञ्चालन नाफामा देखिएको छ । एकपल्ट गुमिसकेको रेटिङ फिर्ता भएको छ र कर्जाको लिमिट पनि बढेको छ ।

खासगरी सञ्चालनको विवाद टुंगिएसँगै कम्पनीले कर्जा बढाउने तयारी गरेको छ । यसअघि २ अर्ब ७० करोड रुपैयाँ कर्जा सीमा रहेको कम्पनी अहिले ३ अर्ब ४७ करोड रुपैयाँको कर्जा सीमा लिएर बसेको छ । बीएन्डसीले २ अर्ब ६० करोड रुपैयाँ दीर्घकालीन कर्जाको लिमिट लिएकामा यसलाई बढाएर ३ अर्ब ३७ करोड बनाएको छ । यद्यपि यो कर्जा समयमै तिर्ने सम्बन्धमा उच्च जोखिम रहेको छ ।
गत पुसदेखि विद्यार्थी भर्ना सुरु भएसँगै बीएन्डसीको आम्दानी थप सुधार हुने अपेक्षा गरिएको छ । साथै बैंकहरुले पनि बीएन्डसीको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सहमति जनाएका छन् ।
एक दशकभन्दा बढी समय स्वास्थ्यसम्बन्धित सेवामा संलग्न बीएन्डसीको सञ्चालक समितिमा ४ जना डाक्टर छन् । चिकित्सा क्षेत्रमा २ दशक अनुभव रहेका रामबाबु गिरी कम्पनीको अध्यक्ष हुन् । दुर्गा प्रसाईं कम्पनीका कार्यकारी निर्देशक हुन् । दुर्गाका छोरा निराजनले बीएन्डसीका प्रबन्ध निर्देशकका रुपमा मेडिकल कलेज चलाइरहेका छन् । निराजको विज्ञता चिकित्सा विज्ञान र व्यवस्थापनमा रहेको छ ।

अघिल्लो आर्थिक वर्ष अर्थात् आव २०८०/८१ मै बीएन्डसीको कुल व्यापार ११ प्रतिशतले सुधार आएको थियो । अस्पतालनमा ओपीडी सेवा लिन आउने सर्वसाधारणका कारण बीएन्डसीले वर्षभर ९२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
बीएन्डसीले सन् २०२३ मा ८१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा भने कुल व्यापार १ अर्ब १९ करोड रुपैयाँको थियो । साथै, गत आवको ९ महिनामै कम्पनीले ९२ करोड ६० लाख रुपैयाँको कारोबार गरिसकेको छ । साथै गत आवदेखि अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेसँगै आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०११ मा झापाको बिर्तामोडमा स्थापना भएको बीएन्डसीले प्राज्ञिकसहित चिकित्सा सेवा प्रदान गर्दै आएको छ । यता ३०० शैयाको पूर्वाञ्चल क्यान्सर अस्पताल २०७६ पुसदेखि सञ्चालनमा छ ।
दुर्गा प्रसाईंलाई नजिकबाट चिन्नेहरुका अनुसार प्रसाईंले आफू पूर्णकालीन राजनीतिमा लाग्ने गरी सबै व्यावसायिक कारोबार छोरा निराजनलाई जिम्मा लगाएका छन् । र, आफ्नो जिम्मेवारीमा आएसँगै बुबाको सबै विरासत कायम राख्दै सपना पुरा गर्ने सोचमा उनी छन् ।
नभन्दै बैंकहरुले पनि निराजनको योजनालाई पत्याउन थालेका छन् । एक बैंकरले भने, ‘अहिले दुर्गा प्रसाईंको किस्ता नियमित आउन थालेको छ । कम्तिमा ब्याज भए पनि पाएका छौं । प्रसाईं प्रहरी हिरासतमै रहेपनि उहाँको छोराको सक्रियता प्रशंसनीय छ ।’
निराजनले बिजनेस टेकओभर गरेसँगै बैंकहरु विश्वस्त हुन थालेका छन् ।
‘दुर्गाजीले आफ्ना सबै बिजनेस छोराई जिम्मा लगाइसकेका छन्, अब नामसारी नै गरिदिने प्रक्रियामा छन्,’ एक बैंकरले भने, ‘छोराको डिल गर्ने शैली नरम मात्रै छैन, उनी प्रोफेसनल पनि देखिन्छन् । जसले हामीलाई पनि सुरक्षित महसुस गराएको छ ।’

दुर्गा प्रसाईंको यात्रा
दुर्गा प्रसाईंले आठ कक्षाभन्दा धेरै पढेनन् । कम उमेरमै विवाह गरे । केही समय ‘प्रसाईं ग्रिल उद्योग’मा काम गरे । रोजगारीको खोजीमा युरोप पनि पुगे तर टिक्न नसकेपछि नेपाल फर्किए । युरोपमा गरेको भैंसी फार्मको अनुभवका आधारमा विर्तामोडमा व्यावसायिक रूपमा भैंसी पालन सुरु गरे ।
त्यसबेला उनले भारतको हरियाणाबाट उन्नत जातका भैंसी किनेर फार्म सुरु गरेका थिए । करिब सयवटा भैंसीको दुध बेच्थे । उनको फार्मबाट उत्पादन भएको दूध भारतमा पनि बिक्री हुन्थ्यो । सुरुमा बैंकको ऋण लिएर सुरु गरेको फार्म राम्रो चलेको थियो, तर पछि आर्थिक संकटका कारण ऋण समयमा तिर्न सकेनन् । बैंकमा अरु ऋण माग्न जाँदा बैंकले थप ऋण पत्याएन ।

सुरुका दिनमा प्रसाईं नेपाली कांग्रेसमा आबद्ध थिए, तर व्यवसाय धराशायी भएपछि उनी तत्कालीन भूमिगत माओवादीहरूसँग नजिकिए । उनलाई चिन्नेहरूका अनुसार प्रसाईंले माओवादी कार्यकर्तालाई प्रयोग गरेर आफ्नो ससुरालीविरुद्ध दबाब सिर्जना गरे । उनका ससुरा हालको गिरीबन्धु टि इस्टेटका धनी भगवान गिरी हुन् । दुर्गाकी श्रीमती भगवान गिरीकी श्रीमतीहरुमध्ये चन्द्रमायापट्टिकी छोरी हुन् । प्रसाईंकी श्रीमती र सालोले खानदानी अंश पाएका थिएनन् । प्रसाईं माओवादीमा लाग्नुको एउटै उद्देश्य रहेको बताइन्छ, ससुरालीलाई भाटे कारबाही गराएर श्रीमती र सालोलाई अंश दिलाउने । अदालत पुग्दा पनि अंश नपाएका सालोले माओवादी दबाबकै कारण अंश पाएका थिए । नवीन गिरी र प्रेम गिरीलाई माओवादीले कुटपिट गरेको थियो ।
नवीन र प्रेमले डरैले केही बिघा जग्गा पास गरिदिएका थिए । यो जग्गामा दुर्गाको पनि हक लाग्यो । पछि अदालतले पनि दुर्गाकै पक्षमा फैसला गरेको थियो ।
बिर्तामोडमा अहिले जहाँ क्यान्सर अस्पताल छ, त्यहीँ प्रसाईंको घर थियो ।
माओवादीको संगतमा रहँदा सेनाले यातना दिँदा कांग्रेसका नेताहरुको सोर्स लगाएर बाँचेको जानकारहरु बताउँछन् ।
बिर्तामोडको जग्गा प्लटिङ गरी प्रतिधुर ५ लाख रुपैयाँसम्ममा बेचेपछि प्रसाई एकाएक करोडपति बने । पछि काठमाडौं आएर पनि जग्गा कारोबारमा लागे । भक्तपुरमा उनले एक भव्य बंगला बनाए । त्यही बंगलामा दुर्गाले ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएका थिए ।

ससुरालीबाट लिएको जग्गामा प्रसाईंले अस्पताल बनाए । सोही जग्गा बैंकमा राखेर कर्जा लिए । अस्पतालमा अरु पार्टनर राखेर करोडौं रकम संकलन गरे, पछि उनीहरुलाई हटाए । सालो रामबाबु गिरीले कमर्स पढेका थिए । उनलाई डाक्टर पढाए । अंश मुद्दा जितेपछि सासु-ससुराको नाममा बी एन्ड सी अस्पताल चलाए । बी एन्ड सी अर्थात् भगवान एन्ड चन्द्रमाया ।
निराजन र रामबाबुलाई झापामा भलादमी व्यक्ति मानिन्छ ।
एकातिर मेडिकल कलेज तथा अस्पताल प्रोजेक्ट अघि बढिरहेको थियो । अर्कातिर प्रसाईं राजनीतिमा होमिन थाले । सुरुमा माओवादी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरे । र एमालेतिर ढल्किए । एमालले अध्यक्ष ओलीले त प्रसाईंलाई केन्द्रीय सदस्य नै बनाइदिए ।

पछि सम्बन्धन नपाएको झोंकमा एमाले र ओलीलाई तथानामा गाली गरे । एमालले प्रसाईंलाई पार्टीबाट निष्काशन गर्यो । त्यसअघि २०७९ माघमै उनले पूर्वराजा ज्ञानेन्द्रका परिवारका सदस्यको उपस्थितिमा मेचीपुलबाट राजतन्त्र पुनःस्थापनाको अभियान सुरु गरेको घोषणा गरेका थिए । त्यही कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाविरुद्ध आक्रोश पनि पोखेका थिए । प्रसाईं दिनप्रतिदिन अराजक बन्दै गए ।
कहिले राजालाई झापा लैजाने, कहिले युएईका युवराजलाई नेपाल ल्याएर सुनको लट्ठी उपहार स्वरूप लिने, कहिले राजालाई स्वागत गर्न पाँदा राजाभन्दा बढी झकिझाउ देखाउने क्रमले उनलाई सधैं चर्चाको कन्द्रबिन्दुमा पुर्यायो ।
खासगरी बैंकका कर्मचारीलाई ‘पक्रेर कालोमोसो दल्नुपर्ने, नेताहरुप्रति उग्ररुपमा बोल्ने, समाजिक सञ्जालमा लेख्ने’ कारणले प्रसाईंलाई धेरैले चिन्छन् ।

राज्यले नै साथ नदिए पछि उनी बैंकका कर्मचारीलाई गाली गलौज गर्ने, बैंकविरुद्ध खनिने गरे । २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गराउनुपर्ने र अन्य ऋणकोसमेत ब्याज मिनाहा हुनुपर्ने जस्ता गैरव्यवसायिक माग राखेर अभियान नै चलाए ।
आफू आर्थिक संकटमा फसेपछि प्रसाईं बैंकविरुद्धको आन्दोलनमा थप आक्रामक बने । बैंकले ऋण तिर्न ताकेता गरेपछि प्रसाईंले बैंकका कर्मचारीलाई धम्क्याउने मात्रै गरेनन्, तत्कालीन गभर्नर महाप्रसाद अधिकारी र राष्ट्र बैंककै उच्च अधिकारीहरुलाई पनि धम्की दिए ।
प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउनुअघिसम्म प्रसाईं पटक–पटक पक्राउ पर्ने र छुटिरहने गर्थे । बीएन्डसीले विद्यार्थी भर्ना थालेपछि भने प्रसाईंले व्यवसायलाई खासै ध्यान दिएनन् । छोरालाई सबै ह्यान्डओभर गरेका प्रसाईं राजतन्त्र फर्काउने अभियानको कमाण्डरसमेत बने । सोही अभियानअन्तर्गत प्रसाईं नेतृत्वमा फागुन २५ गते राजधानीको तीनकुनेमा भएको आन्दोलनमा २ जनाले न्यान गुमाएपछि उनी फरार थिए । उनलाई भारतबाट पक्राउ गरियो ।
प्रसाईं हाल अनुसन्धानका लागि पुर्पक्षमा छन् । दुर्गा जेलमा रहे पनि छोरा निराजनले उनको बिरासत धानिरहेका छन्, मेडिकल व्यवसायलाई पुनर्जन्म दिन अग्रसर छन् । निराजन संयमित भएर अघिबढेको अवस्थामा डुबिसकेको दुर्गा प्रसाईंको बिजनेसले पुनर्जन्म पाउने देखिन्छ ।







प्रतिक्रिया