दुर्गा प्रसाईंका कार्यकर्ता थप अराजक, ऋण नदिएको भन्दै बैंकका कर्मचारीलाई पुलिसकहाँ पुर्‍याए



काठमाडौं । बैंकविरुद्ध अराजक अभिव्यक्ति दिँदै आएका व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताहरु कार्यशैलीमै अराजक देखिएका छन् । स्वीकृत भएको ऋण नदिएको भन्दै प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई मंगलबार पुलिसकहाँ पुर्‍याएका छन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको झापाको बिर्तामोडमा रहेको शाखाले ५ करोड ऋण स्वीकृत भएकोमा ३ करोड २७ रुपैयाँमात्र दिएर झुलाएको भन्दै प्रसाईंका कार्यकर्ताले इलाका प्रहरी कार्यालय बिर्तामोड पुर्‍याएका हुन् ।

कर्जा नपाएको झोंकमा व्यवसायी राजेश बाँस्कोटाले बैंकका सहायक म्यानेजर दिनेश पनेरुलाई इलाकामा ल्याएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।

‘स्वीकृत भएको कर्जा नदिएको भन्दै बाँस्कोटाले केही दिनअघि धर्ना बस्छु भन्दै बैंकमा निवेदन पनि दिनुभएको रहेछ,’ डीएसपी कार्कीले क्लिकमान्डुसँग भने, ‘पैसा नपाएपछि आज चाहिँ प्रहरी कार्यालयमै जाऊँ भनेर लिएर आउनुभएको छ ।’

व्यवसायी बाँस्कोटा दुर्गा प्रसाईं समूहकै व्यक्ति भएको उनले बताए । ‘त्यही समूहका हुन्, अहिले उहाँहरु (पनेरु र बाँस्कोटा) प्रहरी कार्यालयमै हुनुहुन्छ, हामी बैंक म्यानेजरलाई पर्खिरहेका छौं, उहाँ आइपुगेपछि थप छलफल गर्छौं ।’

भएको के हो ?

बाँस्कोटाले तत्कालीन मेगा बैंकको शाखा कार्यालयबाट दुई वर्षअघि कर्जा लिएका थिए । कर्जा लिएर गाई फार्म र रिसोर्टमा लगानी गरेका उनले नियमित साँवा-ब्याज पनि भुक्तानी गर्दै आएका थिए ।

तर, उनी विस्तारै मुलुकको बिग्रँदो आर्थिक अवस्थाको सिकार बने । पशुमा केही समयअघि फैलिएको महामारीजन्य रोग लम्पी स्किनका कारण उनले पालेका पशुबस्तुमा ठूलो क्षति पुग्यो । त्यसपछि साँवा-ब्याज भुक्तानीमा समस्या आउन थाल्यो।

त्यसबेलासम्म मेगा बैंक नेपाल इन्भेष्टमेण्ट बैंकमा गाभिइसकेको थियो । बाँस्कोटाको बिग्रँदो व्यवहारका बीच आइपुगेको नयाँ व्यवस्थापनले थप कर्जा दिन उपयुक्त ठानेन ।

‘तैपनि हामीले केही समय उहाँलाई सहयोग गर्‍यौं, कर्जा तिर्न सहज होस् भनेर साँवा-ब्याज भुक्तानीको अवधि थपिदियौं,’ शाखा कार्यालय प्रबन्धक राहुल चक्रवर्तीले क्लिकमान्डुसँग भने, ‘तर देशको बिग्रँदो आर्थिक र व्यावसायिक अवस्थाको सिकार उहाँ पनि बन्नुभयो ।’

व्यवसायी बाँस्कोटा आर्थिक दबाबमा फस्दै गएपछि अभियान (दुर्गा प्रसाईं) सँग जोडिएको र बैंकमाथि थप दबाब बढाएको उनले बताए ।

‘हामी राष्ट्र बैंकको गाइडलाइनबाट दायाँ-बायाँ हुनसक्ने कुरा भएन, त्यही भएर उच्च म्यानेजमेन्ट टिमलाई बोलाइदियौं,’ चक्रवर्तीले भने, ‘उहाँ (बाँस्कोटा)ले आफैं कुरा गर्नुभयो, सुरुमा कन्भिन्स पनि हुनुभएको थियो, पछि फेरि के भयो थाहा भएन।’

लामो छलफलपछि रिसोर्टका लागि कामको प्रगतिका आधारमा कर्जा दिन बैंक तयार भयो । ‘कर्जाका लागि रिसोर्टको कामको प्रगतिका आधारमा कर्जा दिन अफर लेटर पनि तयार गरिसकेका थियौं तर उहाँ मैले भनेजति नै चाहिन्छ भन्न थाल्नुभयो,’ उनले भने, ‘त्यसरी कर्जा दिन सक्ने परिस्थिति भने थिएन ।’

बाँस्कोटाले अभियानका संयोजक दुर्गा प्रसाईंमार्फत बैंकका कर्मचारीलाई गाली गर्ने र धम्क्याउने गर्न थाले । केही समयअघि बाँस्कोटा बैंक परिसरमा धर्ना नै पनि बसेका थिए ।

प्रमुख कार्यकारी अधिकृत बिर्तामोडमा

व्यवसायी बाँस्कोटाले सहायक शाखा प्रबन्धक पनेरुलाई प्रहरीकहाँ पुर्‍याएपछि बैंकका उच्च व्यवस्थापन तहका कर्मचारीसहित प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बिर्तामोड पुगेका छन् ।

समस्या थप बिग्रिन नदिन  सीईओ पाण्डे आफैं बिर्तामोड गएका हुन् । उच्च व्यवस्थापनबाट जसरी निर्णय हुन्छ, त्यहीअनुसार आफूहरु अघि बढ्ने शाखा प्रबन्धक चक्रवर्तीले जानकारी दिए ।

प्रसाईं आन्दोलित

प्रसाईं अहिलेको राज्य व्यवस्थाविरुद्ध आन्दोलनमा छन् । उनले मंसिर ७ देखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’का नाममा ऋण मिनाहा गर्नेदेखि राजा फर्काउनेसम्मका नारासहित काठमाडौं केन्द्रित आन्दोलन पनि गरेका थिए ।

काठमाडौं केन्द्रित आन्दोलनका क्रममा उनले बैंकका कर्मचारीदेखि नेताहरुसम्मको कडा शब्दमा विरोध र निन्दा गरेका थिए।

२०७९ फागुन १ गते झापाबाट ‘महाअभियान’ सुरु गर्दै प्रसाईंले वित्तीय क्षेत्रमाथि अराजक भएर उत्रिने उद्घोष गरेका थिए । काँकडभिट्टामा आयोजित कार्यक्रममा उनले स्पष्ट शब्दमा अबको अभियान वित्तीय अराजकता निम्त्याउन केन्द्रित हुने बताएका थिए ।

उनले विभिन्न सार्वजनिक फोरममा ऋण उठाउन आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने र आक्रमण गर्ने बताउँदै आएका छन् ।


क्लिकमान्डु