हाइड्रोको लाइसेन्स झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ: जनार्दन शर्मा

42
Shares

काठमाडौं । पूर्वअर्थ मन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले खोलाका जलस्रोतको लाइसेन्स व्यक्तिगत स्वार्थका लागि थुपार्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अहिले खोलाका दर्जनौं आयोजना केही व्यक्तिको झोलामा थुपारिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

शर्माले खोलाको लाइसेन्स लगानी गर्न सक्ने व्यक्तिलाई दिनु पर्ने भए पनि अहिले बेचबिखनको माध्यम बनेको बताए । ‘लाइसेन्स दिनेमध्ये कसलाई दिनुभएको हो ? लगानी गर्नेलाई कि बेच्नेलाई ? म यसको हिसाब खोज्नेछु’ उनले भने ।

उनले जलविद्युत् योजनाहरूमा सक्रिय डेभलपरहरू योजना नपाइरहेको अवस्थामा कतिपय कम्पनी र व्यक्तिहरूले दर्जनौं आयोजना कब्जा गरेर बसेको आरोप लगाए । ‘खोला बेच्ने कुरा मान्य हुँदैन,’ भन्दै शर्माले यस्ता प्रवृत्तिमाथि कडा नीति ल्याएर नियन्त्रण गर्नुपर्ने बताए ।

शर्माले एउटै खोलाका लागि एक भन्दा बढी लाइसेन्स दिन नहुने भन्दै स्पष्ट नीति बनाउन सरकारलाई आग्रह गरे । ‘यदि एउटा कम्पनीले योजना डेभलप गरिरहेको छ भने, अरूलाई लाइसेन्स दिनु हुँदैन,’ भन्दै उनले पुराना लाइसेन्स खारेज गरी ‘लाइसेन्स कब्जा’ को अन्त्य गर्नुपर्ने बताए।

शर्माले उत्पादन गर्ने क्षमताविहीन कम्पनीहरूले लाइसेन्स अड्काएर राख्नु देशको विकासमा बाधक भएको तर्क गर्दै समयमै लगानी नगर्ने लाइसेन्सहरू खारेज गर्नुपर्ने धारणा राखे। ‘समय बितेपछि उर्जा उत्पादनको खासै अर्थ रहँदैन,’ उनले भने ।

उपमहासचिव शर्माले विद्युत् मात्र उत्पादन गरेर होइन, आन्तरिक खपत बढाएर मात्रै देश समृद्ध बन्ने धारणा राखे। ‘विद्युत् खरिद गरेर देश समृद्ध हुँदैन, खपतबाट समृद्धि आउँछ,’ उनले स्पष्ट पारे।