रास्वपालाई गृहमन्त्रीको प्रश्न: रवि भिजिट भिसामा अमेरिका गएर उतै बसेको हो कि होइन ?


काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा नसिकाउन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधवार उनले अहिले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर प्रश्न उठाइएको भन्दै प्रधानमन्त्रीसँग जाने मानिसहरु सरकारले निर्णय गरेर लैजाने र नामहरु सार्वजनिक पनि हुने गरेको बताए ।

यस्ता न्यूनतम जानकारी राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई उनले आग्रह गरे ।

कोको गएका थिए र त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिए सरकारलाई सजिलो हुने उनको भनाइ छ ।

कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि नपुगिने उनको भनाइ छ । सहकारी ठगी प्रकरणमा अदालतको फैसलासँगै कारागारमा रहेका राष्ट्रिय सभाका सभापति रवि लामिछाने कुनै बेला भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको उनले स्मरण गराए ।

‘जो साथीहरुले कुरा उठाइरहनुभएको छ, मैले एउटा करा सुनेको छु, सुनेको कुरा जान्ने साथीहरुलाई थाहा होला र मलाई पनि जानकारी छ । रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो । उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो की होइन ? होइन भने के भिसामा जानुभएको हो ? त्यो जानकारी गराइदिनुहोला । भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ की पाइँदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन । अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ की हुँदैन । नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने की आफूबाट प्रारम्भ गर्ने ?’ उनले भने ।