बजेट स्वीकृतिको समयसीमाले पर्यटन बोर्डलाई दबाब, असारभित्रै स्वीकृत गराउने तयारी


काठमाडौं । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने नेपालको एक मात्रै सार्वजनिक निजी सार्वजनिक (पीपीपी) मोडलको नमूना संस्था नेपाल पर्यटन बोर्डलाई बजेट ल्याउने समयसीमाको दबाब परेको छ । बोर्डले असार २५ मै बजेट ल्याएर साउनदेखि कार्यान्वयन गर्नुपर्ने भएकोले बोर्डलाई छिटो बजेट ल्याउनुपर्ने दबाब बढेको हो ।

बोर्डलाई तोकिएको समयसीमासँगै चालु आर्थिक वर्ष (असार मसान्त)भित्रै बजेट ल्याउने तयारीका साथ काम भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । ‘असार २५ भित्रैको समयसीमालाई ध्यानमा राखेर बोर्डले बजेट तयार पार्दै छन्,’ उनले भने ।

करिब अन्तिम चरणमा पुगेको उक्त बजेट असार मसान्तभित्रै ल्याउने गरी काम भइरहेको पनि पर्यटन बोर्डले जानकारी दिएको छ। बजेट तयारी भइसकेकोले अब उपयुक्त समयमा बोर्ड बैठक राखेर स्वीकृत हुने पनि पर्यटन बोर्डले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डको बजेट २५ असारभित्रै स्वीकृत हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार बोर्डले अहिलेसम्म तोकिएको समयभित्रै बजेट ल्याउन सकेको छैन् । ‘पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावली २०७२’ अनुसार असार २५ गतेभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

विनियमावलीको विनियम ५ को उपविनियम ४ अनुसार स्वीकृतिका लागि प्रस्तावित भएको कार्यक्रम तथा बजेट अनुमानलाई पर्यटन बोर्ड सञ्चालक समितिले जस्ताको जस्तै वा संशोधनसहित २५ असारभित्रै स्वीकृत गरिसक्नुपर्छ ।

बोर्डको बजेटको प्रभावकारी कार्यान्वयन गर्न असारभित्रै बजेट स्वीकृत गराउने र साउनदेखि कार्यान्वयन जाँदा प्रभावकारी हुन्छ । समयमा नै बजेट आएको अवस्थामा कार्यान्वयन पक्ष बलियो हुन्छ भने ढिलो हुँदा कार्यान्वयन पक्ष हुन्छ ।

यस्ता छन बोर्डको बजेटको प्राथमिकता

पर्यटन उद्योगमा पछिल्लो समय ब्यापक रुपमा लगानी भएकोले अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई नै जोड दिने गरी पर्यटन बोर्डले बजेट तयार पारेको छ । गत वर्ष डिजिटिल मिडियमबाट पर्यटन प्रवद्र्धनको काम अपेक्षा अनुसार हुन नसकेकोले यो वर्ष बढाउने गरी बजेट बनेको छ ।

बोर्डले पर्यटनका जनशक्ति विकासका कार्यक्रम गर्ने, आतिथ्यता क्षेत्रमा, नेचर, टे«किङ, रिभरगाइडसहितको जनशक्ति विकासमा पनि बजेटले प्राथमिकता दिने भएको छ ।

वेलननेस पर्यटन, कफि पर्यटन प्रवद्र्धन, बुद्धिष्ट पर्यटन प्रवद्र्धनसहितमा बोर्डको बजेटले प्राथमिता दिने भएको छ । बोर्डले तयार पारेको बजेटमा पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकाससहित डिजिटल प्रवद्र्धनलाई जोड दिएको छ ।