
एजेन्सी । थाइल्यान्डको संवैधानिक अदालतले मंगलवार प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई कुनै पनि कामकाज नगर्ने गरी निलम्बनको आदेश दिएको छ ।
उनलाई पदमुक्त गर्नुपर्ने भनी दायर गरिएको निवेदनमा सुनुवाइ गर्दै अदालतले निलम्बनको आदेश दिएको हो ।
प्रधानमन्त्री शिनावात्राले बेइमानी गरेको र संविधानको बर्खिलाप हुने गरी कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग फोनमा संवेदनशील वार्ता गरेको आरोपमा ३६ जना सांसदहरूले उनलाई पदबाट हटाउनुपर्ने भन्दै निवेदन दिएका थिए ।
अदालतले निवेदनमा सुनुवाइ गरिरहँदा उपप्रधानमन्त्री सुरिया जुआनग्रूनग्रुअंकितले कार्यवाहकको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शिनावात्राले १५ दिनभित्रमा लिखित जवाफ दिनुपर्नेछ र त्यस अवधिमा उनले संस्कृतिमन्त्रीको भूमिका निर्वाह गर्नेछिन् ।
कम्बोडियाली राजनीतिकर्मीसँगको फोन कल लीक भएपछि थाइल्यान्डमा प्रधानमन्त्रीका विरुद्ध प्रदर्शन हुन थालेका थिए । त्यस काण्डपछि झिनो बहुमतको गठबन्धन सरकार अप्ठ्यारोमा परेको छ । प्रदर्शनकारीहरूले सडकमा विरोध गरिरहँदा सदनमा अविश्वासको प्रस्ताव दर्ता गरिने सम्भावना छ ।
जुन १५ मा प्रधानमन्त्री शिनावात्राले कम्बोडियासँगको सीमाविवाद अन्त्य गर्नका लागि हुन सेनसँग फोनमा कुराकानी गरेकी थिइन् । त्यसक्रममा उनले थाइल्यान्डका एक सैन्य कमान्डरको उनले आलोचना गरेकी थिइन् । थाइल्यान्डमा सेनाको अत्यधिक प्रभाव रहेकाले सेनाको आलोचना सह्य हुँदैन ।
प्रधानमन्त्रीले माफी मागेको भए पनि विरोध रोकिएको छैन ।








प्रतिक्रिया