इरानसँगको युद्धमा ३ अर्ब डलर बराबरको क्षति भएको इजरायलको अनुमान


एजेन्सी । इरानविरुद्ध १२ दिनसम्मको युद्धमा ३ अर्ब डलर बराबरको क्षति भएको इजरायलले अनुमान गरेको छ ।

ब्लूमबर्ग सञ्चारमाध्यममा प्रकाशित खबरअनुसार, इरानी क्षेप्यास्त्रले क्षतिग्रस्त बनाएका भवन मर्मत गर्न र स्थानीय व्यापारिक कम्पनीहरूलाई क्षतिपूर्ति दिनका लागि आर्थिक सहयोग आवश्यक रहेको इजरायलको अर्थ मन्त्रालयले जनाएको छ ।

इजरायलको प्रतिरक्षा प्रणालीलाई छेडेर इरानी क्षेप्यास्त्रहरूले क्षति पु¥याएको तथ्यलाई यसले स्थापित गरेको छ ।

युद्धका क्रममा उपयोग भएका हतियार र प्रतिरक्षा प्रणालीलाई विस्थापित गर्दाखेरी लाग्ने खर्च यसमा जोडिएको छैन । त्यो समेत जोड्दा खर्च झन् बढी हुने सम्भावना छ ।

अर्थमन्त्री बेजालेल स्मोत्रिचले प्रेससँग कुरा गर्दै यस युद्धमा १२ अर्ब डलरभन्दा बढी खर्च भइसकेको हुन सक्ने बताएका छन् । विगत २० महिनादेखि प्यालेस्टाइनविरुद्ध युद्धका कारण दबाबमा रहेको इजरायलको अर्थतन्त्रलाई यस युद्धले थप अप्ठ्यारोमा पारेको छ ।

इजरायलको केन्द्रीय बैंकले सन् २०२५ मा ३.५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । तर, इरानसँगको युद्धले यसमा कमी ल्याउन सक्ने बताइएको छ ।

इजरायलले जुन १३ मा इरानविरुद्ध क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि युद्ध सुरु भएको थियो । १२ दिनसम्म युद्ध चलेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत मंगलवार युद्धविराम गराएका थिए ।

युद्धमा इजरायलका २८ जनाको मृत्यु भएको र १३ सयजना घाइते भएको आधिकारिक आँकडा छ । इरान सरकारले युद्धमा ६२७ जना इरानीको मृत्यु भएको जनाएको छ ।