जापानमा महिनौंसम्म चल्यो चामलको संकट, मूल्य घटेपछि उपभोक्तालाई राहत


एजेन्सी । जापानमा महिनौंसम्म चामलको मूल्य बढेर सास्ती भोगिरहेका उपभोक्ताले राहतको अनुभव गरेका छन् ।

त्यहाँको कृषि मन्त्रालयले गत साता जारी गरेको तथ्यांकअनुसार, ५ किलो चामलको मूल्य घटेर ३ हजार ९२० येन पुगेको छ । गत मार्च महिनादेखि त्यति चामलको मूल्य ४ हजार येनभन्दा कम कहिले पनि भएको थिएन ।

प्रधानमन्त्री शिगेरु इशिबाले चामलको मूल्य घटाउने प्रतिबद्धता गर्दै मूल्यलाई ३ हजार येनको रेन्जमा राख्न सकिने विश्वास गरेका थिए । आफूले यसमा व्यक्तिगत रूपमै हस्तक्षेप गर्ने भनी उनले विपक्षी सांसदहरूलाई बताएका थिए ।

मूल्य बढेसँगै जापानमा चामलको अभाव हुन थालेको थियो । देशभरिका सुपरमार्केटमा चामल पाइन छोडेको थियो ।

तत्कालीन कृषिमन्त्री ताकु एतोले चामलका विषयमा हलुका टिप्पणी गरेपछि पद नै गुमाउनुपरेको थियो । आफूले समर्थकहरूबाट निःशुल्क चामल पाइरहेको भनी उनले टिप्पणी गरेपछि जनताले आक्रोश व्यक्त गरेका थिए ।

सन् २०२४ को पछिल्लो ५ महिनामा जापानमा चामलको मूल्य ह्वात्तै बढेको थियो । सन् २०२३ मा कम धान उत्पादन हुनु र पर्यटकहरूले चामलको अत्यधिक माग गर्नुले यो समस्या निम्तिएको बताइएको थियो । सन् २०२५ को पहिलो ६ महिनामा पनि यो समस्या कायम रह्यो ।

दुई वर्षअघि ५ किलो चामल १८ सयदेखि २ हजार येनमा पाइने गरेको थियो । तर विगत एक वर्षमा त्यो दोब्बरभन्दा बढी महँगिएर ५ हजार येनसम्म पुगेको थियो ।

सरकारी तथ्यांक अनुसार, गत मे महिनामा चामलको मूल्य दोब्बरभन्दा बढी भएको थियो । १०१.७ प्रतिशतले बढेको मूल्य विगत ५० वर्षयताकै सर्वाधिक हो ।

तर, सरकारले गोदाममा राखेको चामल बजारमा पठाएपछि चामलको मूल्य घट्न थालेको छ । त्यससँगै व्यापारीहरूले अमेरिका र दक्षिण कोरियाबाट चामल आयात गर्न पनि थालेका छन् ।