पराग जैन बने भारतीय गुप्तचर निकाय रअका प्रमुख, कस्तो छ उनको ‘पोर्टफोलियो’ ?


एजेन्सी । पराग जैन भारतीय गुप्तचर निकाय रिसर्च यान्ड एनालाइसिस विङका प्रमुखमा नियुक्त भएका छन् ।

पञ्जाब क्याडरको सन् १९८९ ब्याचका प्रहरी अधिकृत जैनलाई रअको प्रमुख बनाइएको हो ।

भारतले पाकिस्तानविरुद्ध चलाएको सैन्य कारवाही अपरेशन सिन्दूरको योजना निर्माणमा जैनले प्रमुख भूमिका निर्वाह गरेका थिए । उनकै सूचनाका आधारमा भारतले आतंकवादीहरूको अखडा र पाकिस्तानी सेनाका अड्डाहरूमा सटीक तवरले क्षेप्यास्त्र आक्रमण गर्न सकेको थियो ।

एभिएशन रिसर्च सेन्टरको प्रमुखका रूपमा जैनले तत्काल गोप्य सूचना उपलब्ध गराएर भारतको प्रतिआतंकवादी कारवाहीलाई नयाँ उचाइ दिएका थिए । हवाई निगरानी, सिग्नल इन्टेलिजेन्स कारवाही, फोटो रिकोनेसाँ उडान, सीमाहरूको निगरानी र तस्बिरमा आधारित गुप्तचरीमा जैनको दक्खल छ ।

कूटनीति र गुप्तचरीको क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव बटुलेका जैनले क्यानडा र श्रीलंकामा रहँदा महत्त्वपूर्ण पदहरू सम्हालेका थिए । ती देशमा रहेका उग्रवादीहरूको सञ्जाल भत्काउनमा उनको भूमिका थियो ।

जम्मु कश्मीरमा प्रतिआतंकवादी रणनीति बनाउनमा उनको प्रमुख योगदान रहेको छ । विशेषगरी कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० को खारेजीपछिको सुरक्षा र बालाकोट कारवाहीमा जैनले नै रणनीति बनाएका थिए ।

नेपालको दक्षिण सीमामा भारतले निगरानी बढाइरहेको बेलामा जैनको नियुक्तिले त्यसलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ ।