वजिरिस्तान आतंकवादी आक्रमणका लागि पाकिस्तानले भारतमाथि लगायो आरोप, नयाँ दिल्लीद्वारा खण्डन


एजेन्सी । पाकिस्तानको वजिरिस्तानमा शनिवार भएको आक्रमण एक आतंकवादी संगठनले गराएको र त्यसलाई भारतको सहयोग रहेको भनी पाकिस्तानी सेनाले लगाएको आरोपलाई भारतले खण्डन गरेको छ ।

उत्तरी वजिरिस्तान पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्छ । त्यहाँको मिर अली भन्ने ठाउँमा आइतवार आत्मघाती आक्रमण हुँदा १३ जना सैनिकको मृत्यु भएको छ र २४ जना घाइते भएका छन् ।

तेहरीक–ए–तालिबान (टीटीपी) नामक संगठनको एक खेमा हाफिजगुल बहादुर समूहले आक्रमणको जिम्मेवारी लिएको थियो ।
‘पाकिस्तानी सेनाले गत २८ जुनमा वजिरिस्तानमा भएको आक्रमणका लागि भारतलाई दोषी देखाएर आधिकारिक बयान जारी गरेको हामीले देख्यौं,’ भारतको विदेश मन्त्रालयले जनायो, ‘यस्तो बयान भर्त्सनायोग्य छ ।’

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सले बयान जारी गरी सेनाको जत्थामा विस्फोटक पदार्थ राखिएको गाडीले टक्कर दिनमा भारतको लगानीमा चल्ने खरिजीहरूको हात रहेको आरोप लगाएको थियो ।

पाकिस्तान सरकारले टीटीपीलाई फितना–अल–खवारिज नाम दिएको छ र आतंकवादी आक्रमण गर्ने सबैलाई खारिजी भनी बोलाउन निर्देशन दिएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा हिंस्रक घटनाहरू बढ्न थालेका छन् । विशेषगरी, अफगानिस्तानमा तालिबानीहरू शासनसत्तामा फर्किएपछि पाकिस्तान सीमामा हिंसा चर्किएको छ । अफगानिस्तानले पाकिस्तानविरुद्धको आक्रमणका लागि आफ्नो भूमि दुरुपयोग गर्न दिइरहेको आरोप पाकिस्तानले लगाएको छ । तालिबानले यस आरोपको खण्डन गरेको छ ।

सन् २०२५ मा मात्र आतंकवादीहरूले खैबर पख्तुनख्वा र बलोचिस्तान प्रान्तमा आक्रमण गर्दा २९० जनाको ज्यान गइसकेको छ । तीमध्ये अधिकांश सुरक्षा अधिकारी छन् ।