चीनबाट दुर्लभ पदार्थ प्राप्त गर्न अमेरिकालाई हतारो, व्यापारयुद्ध अन्त्य गर्ने पहल

707
Shares


एजेन्सी । चीनबाट दुर्लभ पदार्थ भित्र्याउनका लागि अमेरिकाले सम्झौता गरेको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापारयुद्ध अन्त्यका लागि पहल भइरहेको बेलामा यस्तो सम्झौता भएको द गार्डियन पत्रिकाले खबर दिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँग अमेरिकाको सम्झौता भइसकेको भनी बिहीवार बयान दिएका थिए । तर, उनले त्यसको विस्तृत विवरण खुलाएका थिएनन् । भारतीय बजार खोल्नका लागि बेग्लै सहमति पनि भइरहेको ट्रम्पले बताएका छन् ।

गत मे महिनामा जेनेभामा अमेरिका र चीनबीच भएको व्यापार वार्तामा बेइजिङले अमेरिकामाथि अप्रिल २ देखि लगाएका सबै प्रतिबन्धहरू हटाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

अमेरिकाले चीनमाथि चर्को आयातकर लगाएपछि चीनले दुर्लभ पदार्थ (रेयर अर्थ्स) को निर्यात रोकिदिएको थियो । त्यसले गर्दा संसारभरिका गाडी बनाउने कम्पनी, विमान र रकेट बनाउने कम्पनी, सेमीकन्डक्टर बनाउने कम्पनी र सैन्य ठेकेदारहरू मर्कामा परेका थिए ।

महत्त्वपूर्ण खनिज र चुम्बकीय पदार्थहरूको निर्यातमा चीनले रोक लगाउँदा अत्याधुनिक प्रविधि निर्माणमा बाधा पुगिरहेको थियो ।

अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लूमबर्ग सञ्चारमाध्यमसँग कुराकानी गर्दै चीनले अमेरिकालाई रेयर अर्थ्स उपलब्ध गराउने र त्यसपछि आफूहरूले आयातकर हटाउने बताए ।

ट्रम्पले जनवरी महिनामा दोस्रो कार्यकाल आरम्भ गरेपछि व्यापारमा अवरोध र अनिश्चितता महिनौंसम्म कायम भएको थियो । तर, यी दुई विशाल अर्थतन्त्रका प्रतिनिधिले कुराकानी गरेपछि व्यापार सम्झौता हुने संकेत देखिएको छ ।

चीनले सैन्य र गैरसैन्य प्रयोजनका लागि उपयोग गरिने दुर्लभ पदार्थहरूको निर्यातमा लगाएको रोकलाई निकै गम्भीरताका साथ अनुगमन गरिरहेको छ । दुर्लभ पदार्थ किन्नेहरूले अमेरिकी सेनालाई ती पदार्थ उपलब्ध नगराऊन् भनी चीनले चनाखो भएर हेरिरहेको बताइएको छ । यसले गर्दा दुर्लभ पदार्थ कारोबारको अनुमतिपत्र दिने प्रक्रिया सुस्त बनेको छ ।

चीनले महत्त्वपूर्ण खनिज पदार्थहरूको निर्यातमा बन्देज लगाएपछि ट्रम्प प्रशासनले सेमीकन्डक्टर डिजाइन सफ्टवेयर, विमान र अन्य वस्तु चीनतर्फ निर्यात गर्न रोक लगाएको थियो ।

जुन महिनाको आरम्भतिर चीनले अमेरिकाका शीर्ष तीन गाडी निर्माताहरूलाई दुर्लभ पदार्थ उपलब्ध गराउने कम्पनीहरूलाई अस्थायी निर्यात अनुमतिपत्र दिएको रोयटर्स समाचार संस्थाले खबर दिएको थियो । यी पदार्थको निर्यातमा बन्देज लगाउँदा आपूर्ति शृंखलामा अवरोध आउन थालेपछि चीनले फुकुवा गरेको थियो ।

त्यसपछि ट्रम्पले चीनसँग सम्झौता गरिने बताएका थिए । सम्झौताअनुसार, बेइजिङले अमेरिकालाई चुम्बक र दुर्लभ पदार्थहरू उपलब्ध गराउने र अमेरिकाले चिनियाँ विद्यार्थीहरूलाई आफ्ना कलेज र विश्वविद्यालयमा अध्ययनको अनुमति दिने भएका छन् ।