
काठमाडौं । प्याराग्लाइडिङ कम्पनीका सबै प्याराग्लाइडर तीन महिनाभित्र दर्ता नगरे गैरकानूनी हुने र कानून अनुसार कारवाहीसमेत हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै प्याराग्लाइडिङ कम्पनीका प्याराग्लाइडरलाई आगामी आर्थिक वर्ष २०८२÷८३ को तीन महिनाभित्र दर्ता गर्न बुधबार सार्वजनिक सूचनामार्फत आव्हान गरेको छ ।
प्राधिकरणले मनोरञ्जनात्मक उड्डयन नियमावली, २०६९ को परिच्छेद ४ को नियम तथा रिक्रियसनल एभिएसन अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (आरएओसीआर) को च्याप्टर ४ अनुसार दर्ता हुन आग्रह गरेको हो ।
प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट संचालन इजाजतपत्र प्राप्त सबै कम्पनीका प्याराग्लाइडरलाई नागरिक उड्डयन प्राधिकरणको फ्लाईट सेफ्टि स्याण्डर्डस विभागमा दर्ता गराउनुपर्ने उल्लेख छ ।
नियम अनुसार आगामी आर्थिक वर्षका पहिलो तीन महिनाभित्र सबै सोलो तथा टेन्डम प्याराग्लाइडरलाई अनिवार्य रुपमा दर्ता हुनुपर्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । उक्त अवधिभित्र दर्ता नभएका प्याराग्लाइडर गैरकानूनी हुने र कानून अनुसार कारवाही हुने पनि प्राधिकरणले जारी गरेको उक्त सूचनामा उल्लेख छ ।









प्रतिक्रिया