टेक एण्ड पे प्रावधान सच्याइन्छ, ऊर्जाले निर्णय गरेर अर्थ मन्त्रालय पठाइसक्यो: मन्त्री खड्का

161
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको टेक एण्ड पे प्रावधान सच्याइने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा टेक एण्ड पे, टेक अर पे का विषयले चर्चा पाएको बताउँदै यो बुझेर/नबुझेर वा गल्तीले जुनसुकै कारणले आएको भए पनि सच्याइने बताए ।

यसका लागि उर्जा मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको मन्त्री खड्काले जानकारी दिए ।

लक्ष्य एकतिर र काम अर्कोतिर हुन नसक्ने उनको भनाइ छ । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधानअनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणाका विरुद्ध ऊर्जा उत्पादकहरुले असन्तोष व्यक्त गर्दै आएका छन् ।

मन्त्री खड्काले भने, ‘यसबीचमा पनि टेक एण्ड पे, टेक अर पे का विषयले केही चर्चा पाएकै छ । त्यसमा पनि मैले पटक पटक भनिसकेको छु, अनुरोध गरिसकेको छु, यो बुझेर वा नबुझेर वा गल्तीले जेसुकै भए पनि यो सँच्चिन्छ र मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको छ । किनभने लक्ष्य एकतिर हामी अर्कातिर हिँड्न सक्दैनौँ । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्नेछ ।’

मन्त्री खड्काले अबका १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नसके खपत हुने कुराको सुनिश्चितता गरिएको बताए । त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ ।