
काठमाडौं । पर्वतारोहणको सिजनसँगै ४५ देशका करिब ३ सय आरोही सगरमाथा आरोहणका लागि प्रस्थान गरेका छन् । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न विभिन्न ४५ देशका ३७ टिमले आरोहण अनुमति लिएर सगरमाथातर्फ प्रस्थान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले बताए ।
उनका अनुसार यो वर्ष सगथारमाथा आरोहणमा जाने आरोहीबाट मंगलबारसम्ममा ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । विभागबाट विभिन्न हिमालका लागि अनुमित लिने आरोहीको समूह भने ९१ वटा पुगेका छन् ।
विभिन्न हिमाल आरोहण गर्न आरोहीले तिरको रोयल्टी भने ६३ करोड रुपैयाँ पुगेको छ । यी आरोहीमध्ये सबैभन्दा बढी सर्वोच्च शिखर सगरथाको लागि छन् । सगरमाथा आरोहणप्रतिको उत्साह, आरोहणले दिने शान तथा पर्यटकको अठोटका कारण पनि वर्षेनी खुम्बु क्षेत्र जानेहरुको आकर्षण बढ्ने गरेको छ ।
सगरमाथासहित हिमाल आरोहणको रोयल्टी आगामी सिजनबाट भने बढेकोले अहिलेसम्मलाई पुरानै दररेट लागू भएकोले यस पटक उत्साह बढी देखिएको छ । आगामी भदौपछाडिको लागि भने आरोहण शुल्क बढेको छ । हाल सगरमाथा आरोहण गर्न १० हजार डलरले पुग्नेमा अब भने १५ हजार डलर प्रतिव्यक्ति लाग्ने भएको छ ।
सगरमाथा आरोहण विश्वकै नजरमा पर्ने, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि भएकोले पनि यो हिमाल आरोहणमा आकर्षण धेरै हुने गरेको छ । हाल सगरमाथा आरहणका लागि आरोही दोस्रो आधार शिविरसम्म पुगिसकेका छन् ।
सगरमाथासहितका हिमाल आरोहणका लागि खुम्बु क्षेत्र अहिले निकै व्यस्त भएको छ । पर्यटकीय सिजन भएकोले यो क्षेत्रका होटल व्यस्त छन् । पदयात्रा गर्ने तथा आरोहणमा जाने पर्यटकका कारण भरीया र सहयोगीहरु पनि अहिले व्यस्त हुने बेला हो ।
दुई दिन अगाडि मात्रै खुम्बु क्षेत्र पुगेर फर्किएका पर्यटन व्यवसायी तथा एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पा भने यो वर्ष जलवायु परिवर्तनका कारण र मौसमले साथ नदिएका कारण आरोहणको लागि सिजन नै छोटो भएको बताउँछन् । उनले भने, ‘यो वर्ष मौसम त्यति अनुकुल नहुँदा आरोहीबाहेकका पदायात्रा गर्ने पर्यटकको चहलपहल भने कम छ ।’
गत वर्षको तुलनामा जति पर्यटकले नेपालमा पदयात्रा गरेका थिए यो वर्ष त्यसको तुलनामा निकै कम हुने आकलन भएको पनि शेर्पाले बताए ।
नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवाको हवाई भाडा महंगो भएको, आगामी सिजनबाट पर्वतारोणको शुल्क नै बढेको र मौसमसहितको कारण पर्यटकीय आगमन कम हुने पनि उनले बताए । पछिल्लो समय नेपालमा विकसित राजनीतिक घटनाक्रमले गर्दापनि पर्यटनमा असर पर्ने देखिएको पर्यटन व्यवसायीको भनाइ छ ।








प्रतिक्रिया