पोखराबाट सिचुवान एयरलाइन्सले उडान गर्दै, हिमालय नियमित उडानको तयारीमा


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सले उडानको सुरुवात गर्ने भएको छ । चिनियाँ वायुसेवा सिचुवानले आगामी मंगलबार पोखरामा उडान गर्ने र फर्कंदासमेत एक सयभन्दा बढी यात्रुलाई लिएर जाने भएको हो ।

यो वायुसेवाले सुरुका केही उडान चार्टर गर्ने र त्यसपछि नियमित गर्ने गरी तयारी गरेको जानकारी सम्बन्धित वायुसेवाबाट आएको पोखरा विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए ।

उनका अनुसार लामो समयदेखि उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवानको उडानले नियमित उडानको अपेक्षा देखाएको छ ।

अगामी १८ फागुनबाट हिमालय एयरलाइन्सले भने सातामा एक उडान पोखरामा गर्ने गरी नियमित उडानको तालिका नै बनाइसकेको छ ।

काठमाडौंबाट चीनकाे ल्हासा गएकाे जहाज त्यहाँबाट सिधै पोखरा आउँछ । साे जहाज पोखराबाट ल्हासा जानेछ भने फर्किएर काठमाडाैं‌ आउने गरी तालिका बनाएकाे छ । यो वायुसेवाले सातामा एक उडान मात्रै पोखरामा गर्ने भएकाेले ल्हासाबाट आउने र पोखराबाट फर्किएको जहाज ल्हासाबाट काठमाडौं आउने भएको छ ।

यो वायुसेवाले पर्यटकीय राजधानी पोखराबाट विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासासम्म साताको एक उडान गरेर सिधा हवाई पहुँचको सुरुवात गर्ने तयारी गरेको छ ।

पोखरा नयाँ रुटको उडानमार्फत हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको जानकारी दिएको छ ।

काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा यात्रुको मागको आधारमा आगामी दिनमा उडानहरू थप्दै जाने योजना हिमालयले बनाएको छ ।

काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आगामी १८ चैत अर्थात मार्च ३१, २०२५ मा बिहान साढे ८ बजे हुने छ । सोही दिन चीनको स्थानीय समयअनुसार १२ बजेर ०५ मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ ।

ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १३ बजेर १५ मिनेटमा उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ बजेर ४५ मा पोखरा अवतरण गर्ने जानकारी हिमालय एयरलाइन्सले दिएको छ ।

ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ बजेर २० मिनेटमा हुने छ । पोखराबाट उडेकै दिन चीनको स्थानीय समयअनुसार १२ बजेर ०५ मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा अवतरण हुने यो वायुसेवाले जानकारी दिएको छ ।