प्रिफरेन्सियल सेयर दर्ता गर्न धितोपत्र बोर्डले मानेन

721
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिफरेन्सियल सेयर दर्ता गर्न अस्वीकार गरेको छ । बोर्डले कानुनी प्रावधान नभएको भन्दै अग्राधिकार सेयर दर्ता गर्न नमानेको हो ।

नेपाल राष्ट्र बैंकले हालसम्म ३ बैंकलाई अविमोच्य प्रकृतिको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ । केन्द्रीय बैंकले कामना सेवा विकास बैंक, सानिमा र नबिल बैंकलाई यस्तो सेयर जारी गर्ने स्वीकृति दिएको हो । राष्ट्र बैंकको अनुमतिपछि अर्थात् सेयर जारी गर्नुअघि धितोपत्र ऐनअनुसार धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नु पर्ने हुन्छ ।

आईपीओ, एफपीओ, हकप्रद जस्तै पुँजी वृद्धि गर्न अपनाइने औजार अग्राधिकार सेयरबारे भने कानुनी प्रावधान नै नभएको तर्क बोर्डको छ । बोर्ड स्रोत भन्छ, ‘केही बैंकबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति माग्दै निवेदन आएको छ, तर, हामीसँग रहेका कानुनी प्रावधानले अग्राधिकार सेयर नचिनेकाले दर्ता गर्न आधार पाएका छैनौं ।’

यी बैंकले प्राइभेट प्लेसमेन्टबाट अग्राधिकार सेयर जारी गर्ने योजना बनाएका छन् । अर्थात्, अग्राधिकार सेयरका लागि आईपीओ हकप्रद जस्तै आवेदन खुल्दैन । बैंकले आफैं सेयर खरिदकर्ता खोज्छ ।

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाकोभन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो ।

कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार सेयरवालाहरुको पहिलो अधिकार हुन्छ । यसै कारण अग्राधिकार सेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिन्छ ।

तर, सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार सेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । त्यसविपरित कम्पनीले जतिसुकै नाफा आर्जन गरे पनि अग्राधिकार सेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यसकारण अग्राधिकार सेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार सेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पनि पाउँदैनन् ।

अग्राधिकार सेयरहरु सञ्चयशील (क्युमुलेटिभ अर्थात् कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भई आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील (नन्–क्युमुलेटिभ), विमोच्य (रिडिमेबल अर्थात् निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य (इरिडिमेबल–पर्पेचुअल) र परिवर्तनशील (कन्भर्टिबल अर्थात् निश्चित समयावधी पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील (नन्–कन्भर्टिबल) प्रकृतिका हुन्छन् ।

यसको अर्थ, राष्ट्र बैंकबाट अनुमति पाएअनुसार बैंकहरुले जारी गर्ने भनेको पर्पेचुअल नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर भन्नाले नाफा भएको वर्षमात्र लाभांश पाउने, कम्पनी अस्तित्वमा रहेसम्म चलिरहने अग्राधिकार सेयर हो ।

कामना सेवा विकास बैंक राष्ट्र बैंकबाट सबैभन्दा पहिला स्वीकृति लिएर अग्राधिकार सेयरको अनुमति माग्दै धितोपत्र बोर्डमा पुगेको थियो । यता नबिल बैंक कल–ब्याक अप्सन राखेर राष्ट्र बैंक कहाँ पुगेका कारण केन्द्रीय बैंकबाट अग्राधिकार सेयरको स्वीकृति पाउने बैंक बनेको थियो । कल–ब्याक विकल्प हटाएपछि राष्ट्र बैंकले नबिललाई अग्राधिकारको अनुमति दिएको हो । तर, अहिले दुवै बैंकलाई बोर्डले निवेदन दर्ता गर्नबाट बञ्चित गरेको हो । राष्ट्र बैंकबाट सानिमा बैंकले पनि प्रिफरेन्सियल सेयर जारी गर्ने अनुमति पाइसकेको छ ।