क्यान महासंघको रणनीतिक योजना बैठकको निर्णय, डिजिटल नेपाल बनाउन नीतिगत जोड दिने

35
Shares

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को रणनीतिक योजना बैठकको निर्णयले डिजिटल नेपाल बनाउन नीतिगत रुपमा जोड दिने भएको छ ।

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघ को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ । फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय गरेको छ ।

बैठकले सूचना प्रविधि क्षेत्रमा नीतिगत सुधारको दिशा तय गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । संस्थालाई सुदृढ बनाउन विभिन्न कार्यक्रम र पहलहरू सञ्चालन गर्ने योजना बनाइएको छ ।

सो अवसरमा क्यान महासंघका अध्यक्ष सुनैना घिमिरे पाण्डेले नीतिगत क्षेत्रमा सुधार गर्न कार्ययोजना प्रस्तुत गरेकी छिन । उनले डिजिटल नेपाल निर्माणका लागि विद्यमान नीतिमा सुधार, प्रविधि विकास, अनुसन्धान प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्य राख्दै विभिन्न क्षेत्रहरूमा कार्य गर्ने योजना राखिन् ।

नेपालमा डेटा प्रोटेक्सन ऐन, ई-गभर्नेन्स ब्लुप्रिन्ट, राइड शेयरिङ ऐन, डन एनपी पोलिसी, इन्डस्ट्री ४.०, नेपाललाई उच्च साइबर सुरक्षा खतराबाट मुक्त पार्ने योजना, मेड इन नेपाल सफ्टवेयर र सेवाहरूको प्रवर्द्धनमा जोड दिने उनले बताइन् । आईसीटीको मानकीकरण र आईटी बोर्डको स्थापना, श्रम ऐनमा सुधार, आईटी विधेयक पारित गर्ने, ब्रोडब्यान्ड इन्टरनेट कर परिमार्जन लगायतका नीतिगत पहलहरू अगाडि बढाइने अध्यक्ष पाण्डेले उल्लेख गरिन ।

वैदेशिक लगानी (एफडीआई)मा पाँच प्रतिशतसम्म शेयर उपलब्ध गराउने, आईटी उद्योगमा कर छुट, स्टार्टअपलाई प्रवर्द्धन गर्ने कार्यक्रम र फिनिसिङ स्कुलमार्फत उद्योगअनुकूल सीप विकास गर्ने कुरामा पनि क्यान महासंघले जोड दिएको छ ।

नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विभिन्न पहलहरू अघि बढाउने, महिला सशक्तिकरणका लागि आईसीटीमार्फत कार्यक्रम संचालन गर्ने र डिजिटल अर्थतन्त्रलाई बढावा दिने उद्देश्य राख्दै ठोस कदम चाल्ने प्रतिबद्धता जनाइएको छ ।

डिजिटल नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै ठोस परिणाम ल्याउन काम गरिने अध्यक्ष पाण्डेले बताइन् ।

बैठकमा प्रस्तुत योजना र कार्यक्रमलाई आधार मान्दै आगामी दुई वर्षे रणनीति तय गरिएको हो । सो अवसरमा बोल्ने पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बदलिँदो समय अनुसार क्यानलाई सुदृढीकरण गर्न आफ्ना तर्फबाट सुझाव पेस गरिन ।

क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित कुमार पोदारले प्रविधि क्षेत्रको आर्थिक योगदान बढाउने नीति निर्माणको आवश्यकता औंल्याउँदै डिजिटल साक्षरता, नवप्रवर्तन, नीति सुधार र विश्वव्यापी साझेदारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले आईटीमैत्री नीति आवश्यक भएकोमा जोड दिँदै स्टार्टअप समिट, इनोभेसन समिट, सफ्टवेयर समिट जस्ता कार्यक्रमको प्रस्ताव राखेकी थिइन् । केहि समय अघि ‘नेपालमा एआईको प्रयोग र अभ्यास’ शीर्षकको अवधारणापत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारीका् नेतृत्वमा समीक्षात्मक अध्ययन तथा सिफारिस तयार गरि सरकारलाई बुझाएको थियो ।

 अर्का उपाध्यक्ष सुवास खड्काले आईटी विद्यार्थी, स्नातक तथा विशेषज्ञहरूलाई संलग्न गराई उद्योग–शिक्षा सहकार्यको आवश्यकतामा जोड दिइन् ।

उपाध्यक्ष हर्कबहादुर सेटी र शेखरनाथ दुलालले प्रदेश तथा स्थानीय तहमा डिजिटल साक्षरता, साइबर सुरक्षाबारे सचेतना र आईटी परियोजनाका लागि प्रस्ताव लेखनमा ध्यान दिनुपर्ने उल्लेख गरिन् ।

उपाध्यक्ष सृजना श्रेष्ठले अनुसन्धान, विद्युतीय-फोहोर (ई-वेस्ट) व्यवस्थापन तथा क्यान महासंघको ब्रान्डिङमा विशेष जोड दिइन्  थियो । कार्यक्रम सञ्चालन समेत गर्नुभएको क्यानकी सचिव सरिता न्यौपानेले महिलाहरूको प्रविधि क्षेत्रमा अवसर र चुनौतीबारे चर्चा गर्दै आईसीटीमार्फत महिला सशक्तिकरण कार्यक्रम आवश्यक रहेको धारणा राखिन् ।

केन्द्रीय कार्यसमिति सदस्य केशव भट्टराईले रिफर्बिस्ड आईटी सामग्रीको सट्टा गुणस्तरीय उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक नीति निर्माणमा जोड दिनुभयो । अन्य कार्यसमिति सदस्यहरूले पनि आफ्ना भनाइ राख्दै उत्पादन र प्रविधिमा सुधार ल्याउनका लागि सम्बद्ध नीति र कदमहरूमा ध्यान दिनुपर्ने कुरा राख्नुभएको थियो ।

बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी एवम् सदस्यका लागि क्यान मकवानपुर शाखाले स्वागत तथा रात्रि भोजको आयोजना गरेको थियो ।