मुलुककै पुरानो विराट गोल्डकपको नवौं संस्करण आजदेखि

63
Shares

विराटनगर । मुलुकको पुरानो र मोफसलको प्रतिष्ठित मानिँदै आएको रात्रीकालीन रमपम विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करण आजदेखि विराटनगरको सहिद मैदानमा सुरु हुँदै छ ।

साँझ ७ बजे सहिद मैदानको फ्लड लाइटमा आयोजक रिजालको मोरङ ११ र पाहुना टोली भारत कोलकाताको साउथेन समिति आमने सामने हुँदा प्रतियोगिता औपचारीक सुरु हुने खेल तालिका छ ।

विसं २०१८ सालदेखि राजा महेन्द्रको नाममा महेन्द्र गोल्डकपका रुपमा २८ औं संस्करणसम्म सञ्चालन भएको यो प्रतियोगिता २०६२/६३ को राजनीतिक परिवर्तनसँगै विराट गोल्डकपमा परिणत भएर नवौं संस्करणमा पुगेको हो ।

कोशी प्रदेशको पहिलो प्रदेश सरकारले ५ करोडको लागतमा यहाँको सहिद मैदानमा स्थायी फ्लडलाइटको व्यवस्था गरेपछि प्रतियोगिताको पाँचौ संस्करण यताका हरेक संस्करण रात्रीकालीन सञ्चालन हुँदै आएको छ ।

फागनु २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको नवौं संस्करणको उपाधिकालागि तीन विभागीय टोली सहित स्वदेशी ८ र भारतका दुई टीमले प्रतिष्पर्धा गर्दै छन् । आठौं संस्करणको उपाधि गतवर्ष नेपाल पुलिसले जितेको थियो ।

प्रतियोगिता सञ्चालनकालागि अनुमानित १ करोड ३५ लाख खर्च हुने संयोजक नविन रिजालले बताए । नवौं संस्करणको विजेताले ट्रफीसहित ११ लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने छन् ।

त्यसैगरी विधागत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकताले जनही १५ हजार, उत्कृष्ट खेलाडीले ११ हजार र सर्वोकृष्ट खेलाडीले ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटवल संघ (एन्फा) राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार, प्रदेश खेलकुद बोर्ड, विराटनगर महानगरपालिका सहित औधोगिक नगरका उद्योगी व्यवसायीले प्रायोजन गरेका छन् ।

Skip This