
काठमाडौं । इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुइजी बुफोनले आफूलाई नेपालको झण्डा र हिमालले आकर्षित गरेको बताएका छन् ।
‘केपी ओली कप फुटबल’ को फाइनल खेल अवलोकन गर्न आइतबार काठमाडौं आएका बुफोनले आफूले नेपालबारे पहिल्यै सुनेको र नेपालको फरक खालको झण्डा र यहाँका रहस्यमयी हिमालले आकर्षित गरेको बताए ।
‘म सानो छँदा विश्वको नक्सा हेर्थेँ । नेपाल र यसको झण्डाले मलाई आकर्षित गर्थ्यो । यो एकदमै मौलिक छ । म नेपाल भ्रमण गर्त आतुर थियो । मेरो लागि यो एउटा सपना पूरा भएको क्षण हो, जसलाई कहिल्यै बिर्सिन सक्ने छैन । मलाई बोलाएकोमा आयोजकलाई धन्यवाद,’ बुफोनले भने ।

केपी ओली कपको विजेता को बन्छ भनेर हेर्न आफू उत्साहित रहेको उनले बताए ।
कार्यक्रममा सहभागी हुन आएका बुफोनले आफूलाई अहिले पर्याप्त समय नभएको भन्दै पुन: नेपाल आउने बताए ।
त्यतिबेला नेपालको शहर, हिमालको अवलोकन गर्ने उनले बताए ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले बुफनलाई स्वागत गरे ।
सन् २००६ मा बुफनले इटालीलाई फिफा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले इटालीको राष्ट्रिय टोलीका लागि १७६ खेल खेलेका छन् जसमा ८० खेलमा कप्तानी गरेका थिए । उनले पाँच पटक विश्वकप प्रतियोगितामा सहभागिता जनाएका थिए ।
‘केपी ओली कप फुटबल’ को फाइनल खेल सोमबार साँझ ६ बजे दशरथ रंगशालामा मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
उनलाई नेपाल ल्याउन अयोजक युवा संघले मोटो रकम खर्चिएको छ । बुफोनलाई नेपाल ल्याउन करिब डेढ करोड रूपैयाँ खर्च गरिएको स्रोतको दाबी छ ।








प्रतिक्रिया