
काभ्रेपलाञ्चोक । काभ्रेस्थित बनेपाको एक होटलमा २३ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन् । बनेपा नगरपालिका-८ मा अवस्थित भ्यू पाहुना घर होटलको कोठा नम्बर ११५ मा युवती बिहीबार साँझ मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृतक बनेपा नगरपालिका-६ सुडोल बस्ने शर्मीला श्रेष्ठ हुन् । उनी दुईवटा बेड भएको कोठामा बेडको बीचमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार ती युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट बाहिर निस्किएको देखिएको छ । हाल ती युवक फरार छन् र प्रहरीले उनको खोजी जारी राखेको छ । ती युवकको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
मृतक बनेपाकै एक मेडिकलमा कार्यरत रहेको जनाइएको छ । शर्मिलाको मृत्युको कारणबारे पुष्टि भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको बताएको छ ।
प्रतिक्रिया