शौचालयभित्र फोहोरले छोपेको अवस्थामा सुकेधारमा पुरुषको शव फेला

0
Shares

काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिकै एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार शव पुरानो प्रयोगमा नरहेको शौचालयभित्र फोहोरले ढाकिएको अवस्थामा भेटिएको हो ।

शव ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थायी घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय अडविर राईको भएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । मृतकको टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको तथा अनुहार र कपालमा रगत लतपतिएको अनुसन्धान टोलीले जनाएको छ ।

शवलाई म्याट्रेस, सिरानी, झोला, र फोहोर कपडाले छोपेर लुकाउने प्रयास गरिएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । टोलीले फोहोर हटाएर शव निकालेपछि थप अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि पठाएको छ।