
प्युठान । प्युठानमा दम्पती हत्याको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल नजिकैको बारीमा रगताम्य घन फेला पारेको छ ।
प्रहरीका अनुसार उक्त घन घरबाट करिब ५० मिटरको दूरीमा फेला परेको हो । जसले हत्या घन प्रहार गरेर गरिएको हुनसक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले मृतक दम्पतीको टाउको गम्भीर रूपमा क्षतविक्षत भएको र बारीमा रगत लतपतिएको घन भेटिनुले हत्याका लागि सोही हतियार प्रयोग गरिएको हुन सक्ने बताए ।
शनिबार दिउँसो करिब १२:३० बजे माण्डवी गाउँपालिका-२, रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकमा परियार आफ्नै घर नजिकै मृत अवस्थामा भेटिएका थिए ।
छिमेकीले प्रहरीलाई जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी टोली घटनास्थल पुगेक थियो ।
अनुसन्धानका क्रममा दम्पतीको टाउकोमा निर्घात प्रहार गरी विभत्स रूपमा हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गर्न भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको थियो ।
उक्त घरमा बुढाबुढी मात्रै थिए । उनीहरुका चार छोरा भारतमा बस्छन् । दुई छोरी बिबाह भई दाङ बस्छन्।
प्रतिक्रिया